दुर्घटनामा एक युवकको ज्यान गएपछि स्थानीयद्वारा राजमार्ग अवरुद्ध

सिरहा। सिराहा चोहर्वा खण्डको भलुवाही चौकमा बुधबार साँझ सवारी दुर्घटनामा एक युवकको ज्यान गएपछि स्थानीयले बिहीबार बिहानैदेखि राजमार्ग अवरुद्ध गरेका छन्।

सिराहा नगरपालिका–११, भलुवाहीका १८ वर्षीय नीरज कामतको स१ ह ७२४ नम्बरको अटोको ठक्करबाट घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनापछि आक्रोशित स्थानीयले बिहीबार बिहानदेखि सिराहा चोहर्वा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध गरेका छन्।

क्षतिपूर्तिको माग राख्दै र घटनामा संलग्न चालक तथा सवारी धनीमाथि कारबाहीको माग गर्दै स्थानीयले प्रदर्शन गरिरहेका छन्। प्रदर्शनकारीले राजमार्गमा टायर बालेर सडक अवरुद्ध गरेका छन्। सिराहाको सदरमुकाम सिराहा बजार जाने र आउने सबै सवारीसाधन ठप्प छन्।

घटनास्थलमा प्रहरी परिचालन गरिएपनि प्रदर्शनकारीको माग तत्काल सम्बोधन गर्न नसकिँदा समस्या समाधान हुन सकेको छैन।

युवकको मृत्युपछि पीडित परिवार र स्थानीयले उचित क्षतिपूर्ति र कारबाहीको माग गरेका छन् । प्रशासनले समस्या समाधानका लागि वार्ताको प्रयास गरिरहेको छ।जिल्ला प्रहरी सिराहाका सूचना अधिकारी वीरेन्द्र पासवानले बताए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।