पत्रकार महासंघमा देउवा र ओलीविरुद्ध प्रचण्ड र शेखरको गठबन्धन
काठमाडौं। नेपाल पत्रकार महासंघको अध्यक्षमा उम्मेदवारी दिएका कमल गिरीले उम्मेदवारी फिर्ता लिएका छन्। गिरीले शनिबार बिहान ११ बजे महासंघ केन्द्रीय कार्यालय सञ्चारग्राममा आफैं उपस्थित भएर उम्मेदवारी फिर्ता लिएका हुन्। माओवादी निकट प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष गिरीले शुक्रबार अध्यक्षमा उम्मेदवारी दिएका थिए।
श्रोतका अुनसार गिरीले अध्यक्षमा उम्मेदवारी दिएका रमेश विष्टलाई समर्थन गरेका छन्। प्रेस युनियन सम्वद्ध विष्ट महासंघको निवर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष थिए।
अध्यक्ष विपुल पोखरेलले विधानअनुसार तोकिएको समयमा निर्वाचन गराउन नसकेपछि राजीनामा दिएसँगै विष्ट केही समय महासंघको कार्यबाहक अध्यक्ष पनि भए। विष्टले पनि पूर्वनिर्धारित समयमा निर्वाचन गराउन नसकेपछि राजीनामा दिएका थिए।
गिरीले उम्मेदवारी फिर्तासँगै अब माओवादी र काँग्रेसको विद्रोही समूहको छुट्टै प्यानल बन्ने भएको छ। सत्तारुढ काँग्रेस र एमालेले निर्मला शर्माको नेतृत्वमा प्यानल बनाएका छन्। शर्मा एमालेनिकट चौधरीबाट उम्मेदवार बनेकी हुन्।
माओवादी र काँग्रेसको शेखर कोइराला समूहले छुट्टै प्यानल बनाएका छन्। त्यसको नेतृत्व युनियनको विद्रोही समूहका विष्टले गर्नेछन् । महासंघको नयाँ नेतृत्व चयनका लागि आगामी २८ मंसिरमा निर्वाचन हुँदैछ।