आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं।हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशीक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ भने तराईका भूभागहरू तथा उपत्यकाहरुका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ।
आइतबार दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।
कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागको एकदुई स्थानमा दिउँसो हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भूभागमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी भूभागमा आंशिक देखि साधारणतया बदली रहने पूर्वानुमान छ।
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा, गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरूमा, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा राति पनि हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।