केही समयपछि भारत पनि जाँदैछु: प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयपछि आफू भारत भ्रमणमा जाने जानकारी गराएका छन्। झापाको दमकस्थित व्यापारिक कम्प्लेक्सको उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणबाट देशको हितका लागि धेरै कुरा भएको र चाँडै भारत भ्रमणमा जाने बताएका हुन् ।
‘हामी देश बनाउँछौं । कर्णालीमा पुल बन्ने भएको छ। चीन भ्रमणबाट अरु थुप्रै कुराहरू भएका छन्,प्रधानमन्त्री ओलीले भने, ‘अब मान्छेहरूले पत्याएका छैनन् होला, म केही समयपछि भारत भ्रमणमा पनि जान्छु।
उनले आफू संयूक्त राष्ट्रसंघको भ्रमणमा गएका बेला आठ दिनमै ४३ वटा कार्यक्रम सकेर फर्किएको पनि सुनाए। अस्ति संयुक्त राष्ट्रसंघको भ्रमणमा गएँ, र १० दिनमा नेपाल आइपुगेँ । ८ दिनमा ४३ वटा कार्यक्रम गरेर म फर्किएँ।
फरक प्रसंगमा प्रधानमन्त्री बनेपछि देशमा बिग्रिएको अर्थतन्त्र सुधारका लागि धेरै व्यस्त बन्नुपरेको उनले उल्लेख गरे।
‘म प्रधानमन्त्री भएपछि धेरै व्यस्त भएँ। देशको अर्थतन्त्र धेरै तल गिराइएको रहेछ । त्यो ढुकुटीमा पैसा थोपो छैन। तिर्नुपर्ने धेरै रहेछ। त्यस्तो अवस्थामा सरकार पुगेको रहेछ। राज्य पुगेको रहेछ। त्यस स्थितिबाट फर्काउनका लागि धेरै मेहनत गर्नुपर्ने थियो । त्यसमा म लागेको थिएँ,’ ओलीको भनाइ थियो।