देशैभर चिसो बढ्यो,काठमाडौंको न्यूनतम तपक्रम २.५ डिग्री सेल्सियस
काठमाडौं । केही दिनदेखि देशैभर चिसो बढ्दै छ । शनिबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तपक्रम २.५ डिग्री सेल्सियस मापन गरिएको छ । यो तापक्रम वर्षकै न्यूनतम हो ।
केही दिनदेखि तापक्रम निरन्तर घट्दै छ । यसैक्रममा काठमाडौंको न्यूनतम तापक्रम शनिबार बिहान २.५ डिग्री सेल्सियस मापन गरिएको मौसमविद सञ्जिव अधिकारीले जानकारी दिए ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम ३.१ डिग्री सेल्सियस मापन गरेको थियो ।
काठमाडौंबाहेक देशैभरि चिसो क्रमशः बढ्दै गएको छ । जुम्लामा केही दिनदेखि न्यूनतम तापक्रम माइनस ५ भन्दा कम मापन भएका छन् ।
त्यस्तै जोमसोममा न्यूनतम तापक्रम ओरालो लागेर माइनस दुई देखि माइनस ३ सम्म झरेको छ । जिरीमा पनि न्यूनतम तापक्रम शून्यभन्दा कम हुँदै गएको छ ।
दिउँसोको अधिकतम तापक्रम पनि त्यति नघटेपनि न्यूनतम तापक्रम ओरालो लागिरहेको उनले बताए । काठमाडौंमा शनिबार १८ देखि १९ डिग्री सेल्सियसम्म अधिकतम तापक्रम रहने महाशाखाको आकलन छ । यसपालि हिउँदमा सरदरभन्दा कम पानी पर्ने महाशाखाले पूर्वानुमान गरिसकेको छ।