म जहाँ गएँ त्यहाँ जिन्दावादको नारा: अध्यक्ष प्रचण्ड

फाइल तस्बिर

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू जहाँ पुग्यो त्यहाँ जिन्दावादको नारा लागेको बताएका छन्।

रुपन्देहीको तिलोत्तमामा आज आयोजित माओवादी केन्द्रसँग राष्ट्रिय जनमुक्ति पार्टी समाहित तथा राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने,पछिल्लो समय म जहाँ गएँ, त्यहीँ पार्टी नेतृत्वप्रति जिन्दावादको नारा लागेको छ। नेपाली जनताको यो भरोसालाई अलिकति पनि तोड्न दिने छैन।

त्यस्तै,उनले जनता र परिवर्तनको पक्षमा लड्ने पार्टी माओवादी केन्द्र नै हो भनेर जनताले मनमनै फैसला गरिसकेको दाबी गरे। जनताले मनमनै फैसला गरिसकेको छ। जनतालाई माया गर्ने पार्टी माओवादीले हो,परिवर्तनको पक्षमा लड्ने पार्टी माओवादी केन्द्र र नेता प्रचण्ड नै हो भन्ने जनतालाई परेको छ, प्रचण्डले भने।

‘भर्खरै सम्पन्न स्थानीय तहको उपनिर्वाचनले को सिद्धिदै छ, को रिभाइभ भएर आउँदै छ भन्ने देखाइसकेको छ। को शक्तिशाली बन्दै छ र कोप्रति जनताको घृणा देखिएको भन्ने संकेत देखिएको छ,उनले भने।

सरकार छाड्ने बेला केही मिडियाले माओवादी अब सिद्धिने भयो भनेर नियोजित दुष्प्रचार गरेको उल्लेख गर्दै प्रचण्डले माओवादी २०८४ को चुनावमा २०६४ साल फर्काउने गरी जनमत बढाउँदै गएको बताए।