भ्रष्टाचार मुद्धामा दोषी ठहर भएको १३ वर्षपछि शशीकिरण श्रेष्ठ पक्राउ
काठमाडौं। भ्रष्टाचार मुद्धामा दोषी ठहर भएको करिब १३ वर्षपछि नेपाल राष्ट्र बैंकका तत्कालीन उपप्रबन्धक शशीकिरण श्रेष्ठ पक्राउ परेका छन्। नेपाल बैंक लिमिटेडमा कार्यरत रहेको समयमा विभिन्न कर्जा प्रवाह गर्दा भ्रष्टाचार गरेको आरोपमा दोषी ठहर भएका तत्कालीन उपप्रबन्धक श्रेष्ठलाई शनिबार स्वयम्भूबाट प्रहरीले पक्राउ गरेको हो।
बैंकको उपप्रबन्धक हुँदा बैकलाई १९ करोड ८९ लाख ३१ हजार ७८४ रुपैयाँ हानीनोक्सानी गरी भ्रष्टाचार गरेको कसुरमा सजायसमेत तोकिएका श्रेष्ठलाई अदालतमा पेश गरेर फैसला कार्यान्वयन गर्ने प्रहरीले जनाएको छ।
२०६८ भदौ ६ गते श्रेष्ठसहित ऋणी लक्ष्मीप्रसाद आचार्य समेतका व्यक्तिहरूलाई दोषी ठहर गरी सजाय सुनाइएको थियो। २०७३ कातिक २५ मा सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वम्भर प्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराईको इजलासबाट विशेष अदालतको उक्त फैसला सदर भएको थियो। छुट्टा छुट्टै मुद्दामा ६ र ६ महिना कैद सजाय तोकिए्का श्रेष्ठले कारागारमा बसी कैद भुक्तानी गर्नुपर्ने प्रहरीले जनाएको छ।
श्रेष्ठलाई फैसला कार्यान्वयनको लागि आइतबार काठमाडौं जिल्ला अदालतमा पेश गर्नु पर्ने भएपनि सार्वजनिक बिदाका कारण सोमबार मात्रै अदालतमा पेश गरिने भएको छ।