सहकारी ठगी प्रकरण: लामिछानेसहित ५१ जनाबाट बिगोसहित १५ वर्ष कैद सजाय गर्न प्रहरी राय
काठमाडौं। कास्की प्रहरीले सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राई र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित ५१ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने राय दिएको छ।
प्रहरीले सोमबार जिल्ला सरकारी वकिल कार्यालय, कास्कीमा बुझाएको प्रतिवादी अनुसार जीबी र रविसहित ५१ जनाबाट एक अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ रुपैयाँ बिगो असुल गर्नुपर्ने राय प्रहरीको छ।
सम्पत्ति सुद्धिकरणसम्बन्धी मुद्दामा रविसँग २७ करोड ८९ लाख ४४ हजार सात सय पाँच रुपैयाँ रकम असुल गर्नुपर्ने राय दिएको हो। लामिछानेविरुद्ध सहकारी ठगीसँगै सम्पत्ति सुद्धिकरणको मुद्दा चलाउनुपर्ने र बिगो असुल गर्नुपर्ने राय प्रहरीले दिएको छ।
प्रहरीका अनुसार ५१ मध्ये ३७ जना फरार छन्। उनीहरूलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा चलाउनुपर्ने प्रहरीको राय छ।
लामिछानेविरुद्ध सहकारी ठगी र संगठित अपराधमा चारदेखि ६ वर्ष तथा थप ५० प्रतिशत र सम्पत्ति शुद्धीकरणमा दुईदेखि १५ वर्ष कैद र २८ करोड बिगो र त्यति नै जरिवाना असुल गर्ने मागसहित मुद्दा चलाउन सिफारिस गरिएको छ।
सरकारी वकिल कार्यालयले प्रतिवेदन अध्ययन गरेर मुद्दा दर्ता गर्ने जनाएको छ। सूर्यदर्शन सहकारी ठगीमा पक्राउ परेका तथा फरार रहेका १९ व्यक्तिविरुद्ध २०८० असोज १८ मा मुद्दा दर्ता भइसकेको छ।
मुद्दा चलाइएकामध्ये गोर्खा मिडिया नेटवर्कका अध्यक्षसमेत रहेका जीबी राई फरार छन्,सोही कम्पनीका सञ्चालक कुमार रम्तेल पुर्पक्षका लागि २०८० भदौदेखि कास्की कारागारमा छन्।अब लामिछानेसहित ३२ जनलाई मुद्दा चलाउन र समग्रमा सहकारीको कुल १ अर्ब ३५ करोड असुल गर्न प्रहरीको राय छ।