व्यापारीहरुको एकै स्वरः ‘भाडा निर्धारण गरियोस् नभए टिक्न सकिदैँन
रुषा थापा
बुढोपाकाले भन्थे, ‘सुख लुकाएर लुक्छ तर दुःख लुकाएर लुक्दैँन ।’ बजारमा व्यापारीहरु भन्छन्, ‘व्यापार छैन । सटर भाडा तिर्न पैसा छैन ।आर्थिक मन्दीका कारण व्यापार ठप्प भइरहँदा घरधनीहरुले भने भाडा नघटाएको र सरकारले समेत भाडा निर्धारणमा चासो नदेखाएको उनीहरुको गुनासो छ।
झण्डै चार वर्षअघि काठमाडौं उपत्यकासहित देशभरका अधिकांश ठाउँमा सञ्चालित विभिन्न व्यापार व्यवसायीले दैनिक २५ हजार रुपैयाँदेखि लाखौं रकमसम्मको व्यापार गर्थे।अहिले सटर खोल्नु मात्रै हो,बहनी समेत हुदैँन भनेर व्यापारीहरु भन्छन्। भाडा तिर्न नसकेपछि अब बाध्यताले सटर छोड्न लागेको उनीहरु बताउँछन्।
उपत्यकासहित देशभरका शहरी स्थानमा अहिले पनि घरधनीहरु एउटा सटरको मासिक भाडा २५ हजार रुपैयाँदेखि १९ लाखसम्म लिइरहेका छन्। खाली सटर २० लाखदेखि ६० लाखमा किनबेच गरिरहेको छ । एउटा कोठाको ८ हजारदेखि २५ हजार रुपैयाँसम्म मासिक भाडा उठाइरहेका छन्, घरधनीहरु।
एक फ्ल्याटको २५ हजारदेखि तीन लाख रुपैयाँसम्म भाडा लिइन्छ । बत्ती, पानी, फोहोर, इन्टरनेटको पैसा मनलाग्दी लिन्छन्। सवारीसाधन पार्किङ्गको छुट्टै रकम तिर्नुपर्छ।अहिले व्यापारीहरु भन्छन्, ‘कि सरकारले भाडा निर्धारण गरिदिओस् । नभए अब हामी टिक्न सक्दैनौं ।’ घरधनीहरु चर्को भाडा असुल्छन् । तर, न बिल दिन्छन् न कुनै सेवासुविधा।
राज्यलाई तिर्नुपर्ने कर छल्छन्, घरधनीहरु। अहिले भाडामा बसेकाहरुको छुट्टै समस्या छ । उनीहरु मर्नु कि बाँच्नु अवस्थामा पुगेका छन् । डेरामा बसेका कोहीको रोजगारी छैन । रोजगारी भएपनि कतिपयले महिनौंदेखि तलब पाएका छैनन् । व्यापार व्यवसाय गर्नेहरुको पनि अवस्था नाजुक छ । आम्दानीको बाटो कहीकतै नभएपनि घरधनीलाई मासिक रुपमा भाडा तिर्नैपर्यो ।
नभए घरधनीहरु निस्किएर जा भनिहाल्छन् । त्यसैले, कतिपयले ऋण गरेर भएपनि भाडा तिरिरहेका छन् । अहिले बाटोमा हिँड्दा जताजतै कोठा, सटर र फ्ल्याट खाली लेखिएका पोस्टर वा टुलेट देखिन्छ । घर खाली भएपनि घरधनीहरु भाडा घटाउन मान्दैनन् । बरु वर्षौसम्म खाली राख्न उनीहरु तयार हुन्छन् । घरधनीहरु घरलाई आफ्नो निजी सम्पत्ति भन्छन् ।
त्यसैले, मनलाग्दी भाडा तोक्छन् । अनि डेराबहाललाई सेवासुविधा पनि दिदैँनन् । तर, कुनै पनि घर आम्दानीका लागि भाडामा लगाएपछि त्यो कसरी निजी सम्पत्ति हुन्छ ? निजी सम्पत्ति हुनुको लागि त कमाउधन्दाका लागि घर भाडामा लगाउन मिलेन नि । आफ्नो स्वार्थका निम्ति भाडामा लगाउने अनि निजी सम्पत्ति भन्दै उफ्रिन पाइन्छ ?
यता, घरधनीहरुको पनि अलग्गै समस्या छ । उनीहरु भन्छन्, ‘हाम्रो घर बैंक, वित्तिय संस्थाले लिलाम गर्न थाल्यो ।’ घर बनाउँदा लिएको ऋण तिर्न नसकेपछि बैंकले धितो लिलाम गर्न लागेपश्चात् कतिपयले आत्महत्या गर्न थालेका छन् । कोही आफ्नो घरमा झुण्डिएका छन् भने कोही बाटोमै शरीरमा पेट्रोल खन्याएर आगो लगाइरहेका छन् ।
व्यक्तिदेखि बैंक, वित्तिय संस्थाको लगानी घरजग्गा, गाडी र सेयरमा छ । छिट्टै नाफा कमाउन जोकोहीले यी क्षेत्रमा आँखा चिम्लेर लगानी गरे । यसमा क्षेत्र गरेकै कारण सहकारी डुब्यो । कयौं सर्वसाधारण डुबे।
अब बैंकमा पनि समस्या देखिसकेको छ । बैंकमा भएको रकम जनताको हो । तर, सरकारले बेलैमा घरजग्गा, गाडी र सेयरमा लगानी गर्न बैंक, वित्तिय संस्थामाथि कडाई नगर्दा आज आम सर्वसाधारणको निक्षेप जोखिममा परेको छ ।
ऋहिले अर्थविद्देखि राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी पनि भन्छन्, ‘घरजग्गा गाडी र सेयरमा मन्दी भयो ।’ यँही क्षेत्रमा लगानी गरेका कारण अर्थतन्त्रमा समेत समस्या निम्तिएको उनले स्वीकारेका छन् । तर, डुबेपछि गल्ती स्वीकारेर के गर्नु ? दलाली, भूमाफियाहरुले आनाको पाँच हजारमा बिक्री नहुने खेतीयोग्य जमिनदेखि डाँडाकाँडासम्म खण्डीकरण गरेर आनाकै ६०–७० लाखमा बेचबिखन गरे ।
छिमेकी मुलुकमा एक लाखमा पाइने सवारीसाधन यहाँ पाँच लाखदेखि करोडसम्ममा बेचियो । बैंकले एक सय रुपैयाँ कित्तामा निष्काशन गरेको सेयर पनि तीन हजारदेखि ५ हजार रुपैयाँसम्ममा खरिदबिक्री गरियो। त्यतिबेला अर्थ मन्त्रालय, राष्ट्र बैंकले अध्ययन गरेर यी क्षेत्र जोखिमपूर्ण छ, लगानी नगर्नुस् भनी निर्देशन दिएको भए न बैंकमा समस्या देखिन्थ्यो न अर्थतन्त्र संकटमा पथ्र्यो ।
अहिले ९५ प्रतिशत सर्वसाधारणको घरजग्गा, गाडी र सेयर बैंक, वित्तिय संस्थाको नाममा छ। यी जनता बैंक, वित्तिय संस्थाले धितो खाइदिएपछि सडकछाप हुनेछन्। त्यतिबेला अधिकांशले आत्महत्या गर्नेछन्। बैंकको साँबाब्याज तिर्न नसकेपछि अहिले नै कतिपय ऋणीले धितो खाइदिने डरमा डिप्रेसनमा गएका छन्। अस्पताल भर्ना भएका छन्।
यता, बैंक पनि समस्यामा छ । धितो लिलाम गरेपनि बिक्री भएको छैन । किनकि बजारमा घरजग्गा, गाडी र सेयर कारोबारमा मन्दी छ । यसको मूल्य दिनहुँ घट्दै गएको छ । बैंकले सरकारी मूल्य नहेरी बजारमा कारोबार भइरहेको रेटलाई आधार मानेर यी क्षेत्रमा लगानी गर्यो । दलाली, भूमाफियाहरुले यसको कृत्रिम रुपमा मूल्य बढाएका थिए भनेर बैंकले थाहा पाएन ।
जसका कारण अहिले बैंक टाट पल्टिने अवस्थामा पुगेको छ । एकातिर ऋणीले साँबाब्याज तिर्दैन । अर्कोतिर धितो लिलाम गरेपनि खरिद गर्ने कोही भेटिदैँन । त्यसमा पनि धितो मूल्य घट्दै गएको छ । बैंक तनावमा छ । बैंकका सञ्चालक, अध्यक्षहरु रातभर सुत्न सक्दैँनन् । सहकारीकै अवस्थामा पुग्ने उनीहरुले पनि थाहा पाइसकेका छन् ।
हिजो एक करोड रुपैयाँ कर्जा दिदाँ दश लाख त घुस खाए, बैंकका सञ्चालक, अध्यक्षले । सेवाशुल्क तीन प्रतिशत अनि ब्याज १८ प्रतिशत भनेर ४८ प्रतिशतसम्म असुले। विगतमा ऋणीको उठीबास लगाएका बैंक, वित्तिय संस्था अहिले आफैं भाग्ने स्थितिमा पुगेका छन्। त्यसैले, अब बैंकका बचतकर्ता सचेत हुनुपर्छ। सहकारीका बचतकर्ताजस्तो अवस्थामा नपुग्न बेलैमा सोचविचार गरौं।
बैंक, वित्तिय संस्थाबाट ऋण लिएका त डुबिहाले। अब बचत गरेका जनता डुब्नु हुन्न। यसका कारण जनता सतर्क हुन आवश्यक छ। नभए सहकारी बचतकर्ताजस्तै रोएर बस्नुपर्छ। बैंक डुबिसक्यो। तर, यो कुरा बाहिरिएमा पैसा निकाल्नेको भीड लाग्छ भनेर अहिले तरलता थुप्रिएको भ्रम फैलाइएको छ। यसैले,अब भ्रममा नपरौं।
किनकि हिजो सहकारीका बचतकर्ता पनि भ्रममा पर्दा डुब्नुपर्यो। यदि उनीहरुले बेलैमा आफ्नो निक्षेप निकालेको भए आज बिचल्ली हुदैँन्थ्यो। त्यसका कारण जनताले आफ्नो निक्षेपको आफैं सुरक्षा गरौं।