सुमेरु सहकारीका सञ्चालक भरत महर्जनले ३ अर्ब ९३ करोडबढी अपचलन गरेको प्रहरीको निष्कर्ष
काठमाडौं। सुमेरु बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक भरत महर्जनले ३ अर्ब ९६ करोड ४२ लाख रुपैयाँ अपचलन गरेको प्रहरीले निष्कर्ष निकालेको छ।
सुमेरुका संस्थापक अध्यक्ष महर्जनले ८ निजी कम्पनी र ३ व्यक्तिका नाममा फर्जी ऋण खडा गरेर ३ अर्ब ९६ करोड ४२ लाख रुपैयाँ अपचलन गरेको निष्कर्षसहित महर्जनविरुद्ध ललितपुर जिल्ला अदालतमा मुद्दा दायर भएको छ।
फरार रहेका महर्जनविरुद्ध ३ अर्ब ९३ करोड बिगो मागदाबी लिँदै मुद्दा दायर गरिएको प्रहरीले जनेअको छ। प्रहरीले महर्जन दम्पती र छोराको पनि चल अचल सम्पत्ति रोक्का गरेको छ।
प्रहरीका अनुसार उनी २०७९ पुस ७ मा भागेर बेलायत गएको देखिएको छ। महर्जनविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) महासचिवलयबाट रेड नोटिस जारी भएको छ। २०८० माघ १० मा नोटिस जारी भएपनि अहिलेसम्म उनी पक्राउ परेका छैनन्।
प्रहरीका अनुसार महर्जनले सहकारीको रकम निजी अस्पताल, कलेज, मेडिकल कलेज, रिसोर्ट र मार्टमा लगानी गरेको भेटिएको छ। महर्जनले १७ वटा निजी कम्पनीमा आफूखुसी रकम लगेर अपचलन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ।