वैदेशिक रोजगारीमा गएकाले पठाएको रेमिट्यान्समा नेतृत्वहरुको मोजमस्ती,जनताको दुर्गति
अनुसा थापा
वैदेशिक रोजगारी र शिक्षाका लागि विदेश जाने नेपालीको संख्या बढ्दै छ । कात्तिक महिनामा ७१ हजार र मंसिरमा ८३ हजारले नेपाल छाडे । मासिक हजारौंले आफ्नो जन्मभूमि छोड्छन् । विदेश जानेको संख्या आरोलो लाग्ने होइन्, झनझन् उकालो चढ्दैछ । गाउँ रित्तिसकेको छ । गाउँको घरमा ताल्चा लगाएर श्रीमती र सन्तान काठमाडौं छिरेका छन् ।
सुविधाका लागि उनीहरु शहर पसेका हुन् । गाउँ खाली भयो, शहर महिला, बुढाबुढी र भुराले भरियो । गाउँको जग्गाजमिन जम्मै बाँझो बनिसक्यो । अहिले करोडौं नेपाली विदेशमा छन् । कतिपय उतैको नागरिक बनिसकें, कतिपय आउजाउ व्यवहार गर्छन् । ३० वर्षअघि अष्ट्रेलिया के थियो ? छोटो अवधिमा अष्ट्रेलियाले सोच्दै नसोचेको विकास गर्यो । पढाउने नाममा अर्काको देशको राम्रो विद्यार्थी लग्यो ।
विद्यार्थीसँगै पैसा पनि गयो । तिनीहरुलाई काममा घोटायो । आज अष्ट्रेलिया समृद्धिको उचाइमा छ । मरुभूमि देश दुबई विकासमा धेरै अगाडि छ । तर, हाम्रो देश नेपाल भने अहिले पनि अल्पविकसित देशमा गनिन्छ । दक्ष जनशक्ति लगेर अन्यले विकासमा फड्को मारे, हामी हेरेको हेर्यै । सरकार पनि रेमिट्यान्समा रमायो, अहिले देश नै खाली हुने अवस्थामा पुग्यो ।
२०५२ सालअघि जनता आफ्नै जन्मस्थलमा बस्थें । आफ्नो खेतबारीमा दुःख गर्थें । उनीहरु त्यसमै रमाइरहेका थिए । खेतीकिसानीले गुजारा चलिरहेको थियो । माओवादीले जनयुद्ध शुरु गरेपछि धेरैले आफ्नो घरगाउँ छोडे । नयाँ नेपालको नाममा माओवादीले गाउँबासीलाई लखेटे, अहिले नेताहरुले जनतालाई देशबाट लखेटेका छन् । गाउँ होस् या शहर जम्मै विदेश जाने मात्रै छन् ।
एक महिनामा ८३ हजारले मुलुक छोड्नु सामान्य कुरा होइन् । सरकारले यसलाई हलुका रुपमा लिएको होला तर यसको ठूलै मूल्य चुकाउनुपर्ने हुन्छ । त्यत्रो जनयुद्ध गरेर ल्याएको लोकतन्त्र गणतन्त्रको उपलब्धि के ? प्रश्न उठेको छ । जनताले सुःख पाउँछन् भनेर ल्याएको होइन्, लोकतन्त्र गणतन्त्र ? तर, लोकतन्त्र गणतन्त्र त केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल लगायतलाई मात्र रहेछ ।
केही कमाइ होला, घर चलाउला, छोराछोरी पढाउँला भनेर विदेश हानिएकाहरु बाकसमा प्याक भएर आइरहेका छन् । महिलाहरु यौन दुर्व्यवहारको शिकार बनेका छन् । गर्भ धारण गरेर उनीहरु स्वदेश फर्किरहेका छन् । तैपनि यी शासकहरुको अलिकति चित्त दुख्दैन् । मुटु पोल्दैन् । जनतालाई यो अवस्थामा पुर्याउने त यिनै हुन्। यहीँ बस्छु, केही गर्छु भन्दा पनि वातावरण छैन् ।
चप्पल नै नलगाईकन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झोला बोकेर उभिएको तस्बिरहरु बेलाबखत सामाजिक सञ्जालमा चर्चा आइरहेका हुन्छन् । शासकहरुलाई यो भन्दा ठूलो चड्कन के हुन सक्छ ? सरकारले रोजगारी दिन सकेको भए, उनीहरु विदेश त जाँदैन्थे । जनताको नेता भन्ने तर आफ्नो धोक्रो भर्ने काम मात्र गर्ने । त्यसको मूल्य भने जनताले चुकाउनुपर्ने ।
अधिकांशको सन्तान अहिले विदेशमा छन् । यहाँ बसेकालाई आपतविपत पर्दा साथमा कोही हुँदैन् । छोराछोरीको नाम लिँदै बाबुआमाले श्वास फालिरहेका छन् । मर्ने बेलामा समेत छोराछोरी साथमा हुँदैनन्, योभन्दा विडम्बनापूर्ण कुरा के होला ? मन नलाग्दानलाग्दै अभिभावकलाई छोराछोरी विदेश पठाउनुपर्ने बाध्यता छ । देशका शासकहरु विकास गर्यौं भन्छन् ।
जनताको जीवनस्तरमा परिवर्तन आएको उनीहरु दाबी गर्छन् । के आयो परिवर्तन ? आफ्नो परिवारबाट टाढिनुपर्यो, योे हो परिवर्तन ? मर्दासमेत बुवाआमाले छोराछोरीको अनुहार हेर्न पाउँदैनन्, यो हो परिवर्तन ? अझै देशमा परिवर्तन भयो भन्न लाज लाग्दैन् ? जनतालाई भेडाबाख्राझैं विदेशमा बेचेर परिवर्तन भयो रे । नेताहरु आफू निकटको सञ्चारकर्मी, कार्यकर्ता बोलाएर देशले विकासमा फड्को मारेको भन्दै भाषण ठोक्छन् ।
तर, मासिक ८३ हजारले नेपाल छोडिरहेको कुरा उठाउँदैनन् । वैदेशिक ऋण झण्डै २७ खर्ब रुपैयाँ पुगिसकेको बताउँदैनन् । विदेशमा नेपालीले दुःख गरेर पठाएको रेमिट्यान्स खोइ ? यसको जवाफ दिँदैनन् । गाउँघर रित्तिएको विषयमा बोल्दैनन् । छोराछोरी भन्दाभन्दै बुवाआमाले प्राण त्यागेको कुरा उठाउँदैनन् । यहीँ हो विकास? पहिले त आधा पेट खाएर भएपनि आफ्नै परिवारसँग बस्न पाएका थिए ।
सन्तानले बुवाआमा दुवैको माया पाउँथे । अहिले त श्रीमती गर्भवती हुनेबित्तिकै श्रीमान् कमाउनका लागि विदेश जान्छन् । नेताहरुले जनतालाई सँधै भेडाबाख्रा सोचे । आफूले जे भन्दापनि जनताले पत्याइहाल्छन् भन्ने उनीहरुलाई छ । अवस्था पनि त्यस्तै बन्यो । नेतृत्वले गलत गरेको छ भन्ने थाहा हुँदाहुँदै उनीहरुको कार्यक्रममा गएर ताली पिट्ने हामी भेडा होइनौं ?
हामीले त उनीहरुको विरोध गर्न सक्नुपर्थ्यो । नेताहरुलाई त जनता विदेश पठाएर झन् फाइदा भएको छ । विदेश पठाएर उनीहरुले आफूविरुद्ध उठ्ने औंला रोकिदिएका छन् । आफूले भ्रष्टाचार गरेको कुरा ढाकछोप गर्ने माध्यम बनेको छ, वैदेशिक रोजगारी । नेताहरुको रोपनी–रोपनीमा बनेको घर छ । प्रचण्ड ७८ लाखको घडी बाँध्छन् । यिनीहरुको व्यापार व्यवसाय के ? जनताले त तिनको कुनै व्यापार व्यवसाय देखेका छैनन् ।
अब प्रश्न उठ्छ, त्यत्रो सम्पत्ति कहाँबाट आयो ? यो भ्रष्टाचार होइन् ? भ्रष्टाचारीहरुले वैदेशिक रोजगारीमा पठाएर जनताको मुखमा बुझो लगाइदिए । जनता कर तिरेको तिर्यै छन् । कुनै महिनाको कोखमा गर्भ आउनेबित्तिकै कर तिर्न शुरु हुन्छ । मरेपछि पनि कर तिर्नुपर्छ । तर, त्यो करको सदुपयोग भएन् । जनता गाँस कटाएर कर तिर्छन्, नेताहरु मोजमस्ती गर्छन् । आखिर यो अवस्था कहिलेसम्म ? जनताको आँखा कहिले खुल्ने ?
शासन गर्ने नाममा यिनीहरुले देश सिद्याइसके, हामी टुलुटुलु रमिता हेरेर बसिरहेका छौं । पेट पाल्नका लागि वैदेशिक रोजगारीमा जानुपरेको छ । ऋण तिर्न नसकेर शरीरमा पेट्रोल खन्याएर आगो लगाउनुपरेको छ । योभन्दा विडम्बनापूर्ण अवस्था के होला ? नेपालमा सञ्चालित म्यानपावर, कन्सल्टेन्सी, शैक्षिक संस्था, होटल, रेष्टुरेण्ट, हस्पिटल जम्मै नेता र तिनका कार्यकर्ताको हो ।
हरेक क्षेत्रमा ठगी छ । आफ्नो व्यवसाय चलाउनका लागि जनतालाई शिकार बनाइएको छ । जनताले उपचार पाएका छैनन् । सानो रोग लाग्यो भनेपनि मर्नुपर्ने बाध्यता छ । जनताले शासकहरुको विरोधमा बोल्यो भनेपनि लगेर थुन्छ । अनि शासकहरुले जनताको छोराछोरी विदेशमा भेडाबाख्राचाँहि बेच्दा तिनलाई चाँहि कारबाही हुँदैन् । नेपालीमा एउटा उखान छ,‘ठूलालाई ऐन, सानालाई चैन ।
त्यो अवस्था भएरै सो उखान बनाइएकोजस्तो छ । नेताहरु भोट माग्दा यो–त्यो गर्छौं भन्छन् । यत्रो लामो घोषणापत्र सार्वजनिक गर्छन् । तर, पदमा पुगेपछि सिन्को पनि भाच्ँदैनन् ।
तिनीहरुले जनतालाई ठगेका होइनन् ? ठग्नेलाई कारबाही गर्न देशमा कानुन त होला नि ? तीन करोड जनतालाई झुक्याउनेलाई कठघरामा उभ्याउनुपर्छ कि पर्दैन् ? तर, शासकहरुको अगाडि देशको कानुन निरीह बनेको छ ।
जो देशको पानी पिउँदैन्, ऊ देशको प्रधानमन्त्री । त्यस्तो व्यक्तिले देश विकासको गुनगान गाइरहेका छन् । योभन्दा लज्जास्पद कुरा के होला ? दिनहुँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आँशुको बलिन्द्र धारो बग्छ । तर, नेताहरुलाई कहिल्यै फरक परेन् । रोजगारीका लागि अर्काको देशको भर पर्नुपरेको छ । नेताहरुले गाएको देश र जनताको गीत जनतालाई धेरै भारी परेको छ ।
आफ्नो कार्यकर्ता मर्दा तीन दिन पार्टीको झण्डा झुक्याइन्छ, राष्ट्रिय झण्डा ओढाइन्छ । विडम्बना, यत्रो जनता बाकसमा फर्किँदा कोही चुइक्क बोल्दैनन् ।