सहकारी ठगी गर्ने कसैले उन्मुक्ति पाउँदैनन्: गृहमन्त्री लेखक
बुटवल। गृहमन्त्री रमेश लेखकले सहकारीको बचत रकम ठगी र हिनामिना गर्ने कसैले उन्मुक्ति नपाउने बताएका छन्। बुधबार नेपाल प्रेस युनियनले रूपन्देहीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै गृहमन्त्री लेखकले सहकारीको रकम ठगी गर्ने सयौं मान्छे जेल गएको भन्दै अब पनि कसैले उन्मुक्ति नपाउने बताएका हुन्।
सहकारीको रकम अपचलनमा मुछिएका सयौं व्यक्तिलाई कार्वाही भएपनि एकजनाको बिषय मात्र चर्चामा आएको उनले बताए । गृहमन्त्री लेखकले रास्वपा सभापति रवि लामिछानेलाई चितवनबाट पोखरा लैजाँदा अमर्यादित व्यवहार नभएको दावी गरे । उनले मिडिया र रविले भनेजस्तो अमर्यादित व्यवहार नभएको बताए।
उनले मकै पोल्ने, दिनभर ठेला चलाउने, ज्याला मजदुरी गरेर जम्मा गरेको पैसा हिनामिना गर्नेले भिड जम्मा गरेर न्यायका कुरा गर्न नसुहाउने पनि बताए।
गृहमन्त्री लेखक प्रश्न गर्दै भने,दिनभरि काम गरेर भोकै बसेर जम्मा गरेको रकम खाईदिने अनि भिड जम्मा गरेर न्यायका कुरा ? त्यसो गर्ने हो भने प्रहरी अदालत न्यायाधीश किन चाहियो ? उनले रविलाई काठमाडौंबाट पक्राउ गरी पोखरा लैजाने क्रममा जहाजमा जान नमानेको र चितवनबाट पोखरा जाँदा मानवअधिकार उल्लंघन भयो भन्नु कुतर्क रहेको बताए।
गृहमन्त्री लेखकले सहकारी ठगीका मुख्य योजनाकार जिवी राईलाई ल्याउने कुरामा सरकार गम्भीरतापुर्वक लागेको पनि बताए।