गत वर्षभन्दा ८ अर्ब ३० करोड कम आन्तरिक राजस्व संकलन

काठमाडौं । आन्तरिक राजस्व विभागले मंसिर महिनामा ३६ अर्ब ३६ करोड ३६ लाख आन्तरिक राजस्व संकलन गरेको छ। यो गत आर्थिक वर्ष २०८०/०८१ को मंसिर महिनाको तुलनामा ८ अर्ब ३० करोड कम हो ।

विभिन्न ८ शिर्षकमा विभागले सो बराबर राजस्व संकलन गरेको हो । खाशगरी, बैंकहरुले आयकर शिर्षकमा १३ अर्बभन्दा बढी कर दाखिला गर्दा गतवर्ष मंसिर महिनामा राजस्व संकलन बढेको थियो । यसवर्षको मंसिर महिनामा ८ अर्ब ३० करोड कम राजस्व संकलन भएको हो ।

विभागको तथ्यांकअनुसार यो मंसिरमा आयकर शिर्षकमा १२ अर्ब ३३ करोड, आन्तरिक मूल्य अभिवृद्धि कर (भ्याट)तर्फ ११ अर्ब ३९ करोड, अन्तशुल्क आन्तरिक तर्फ ९ अर्ब ८३ करोड संकलन भएको छ ।

मंसिर महिनामा विभागलाई अर्थ मन्त्रालयले ३८ अर्ब ३० करोड ४४ लाख राजस्व असुल गर्न लक्ष्य दिएको थियो । गतवर्ष बैंहरुले फर्दर पब्लिक अफरिङ (एफपीओ) र मर्जरको लाभमा कर तिर्दा धेरै रकम हुन गएको हो ।

पुर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक ऐनमार्फत एफपीओ र मर्जरमा लाग्ने कर २०८० मंसिर मशान्तसम्म दाखिला गरे जरिवाना र ब्याज नलाग्ने उल्लेख गरेका थिए । तर, सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका बैंकरहरु अदालतले रिट खारेज गरिदिएपछि कर दाखिला गर्न बाध्य बनेका थिए ।

यस्तै, बहाल करतर्फ २३ करोड २० लाख कर उठ्दा ब्याजकर शिर्षकमा ८७ करोड ८४ लाख कर संकलन भएको छ । स्वास्थ्य सेवा शुल्कतर्फ ५८ करोड ५३ लाख, शिक्षा सेवा शुल्कतर्फ १८ करोड ७८ लाख र अन्य शिर्षकमा ९१ करोड ३१ लाख कर संकलन भएको छ ।

यस्तै, चालु वर्षको पाँच महिनामा विभागले १ खर्ब ८७ अर्ब ३२ करोड राजस्व गरेको छ । मन्त्रालयले विभागलाई पाँच महिनामा २ खर्ब १८ अर्ब ४५ करोड राजस्व संकलन गर्ने लक्ष्य दिएको छ । पाँच महिनामा विभाग लक्ष्य भन्दा ३१ अर्ब १ करोड ९८ लाख रुपैयाँले पछि परिसकेको छ।

विभागले चालु वर्ष ७ खर्ब १ अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्वको लक्ष्य प्राप्ति नभए मन्त्री र कर्मचारी समेत सुरक्षित नहुने बताउँदै आएका छन्। तर, मन्त्री पौडेलले कर्मचारीमाथी दबाब बढाएपनि लक्ष्यअनुसार राजस्व असुल गर्न कठिन देखिएको छ।