रविको फोटो सार्वजनिक गर्नेमाथि कारवाही गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । हिरासतभित्रको फोटो बाहिर ल्याउने काममा संग्लनलाई कारबाही गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिएका छन्। सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तस्विर बाहिर ल्याउने व्यक्ति र सुरक्षा कमजोरीमा संग्लन प्रहरीमाथि पनि कारबाही गर्न गृहमन्त्रीले निर्देशन दिएका हुन् ।

सामाजिक सञ्जालमा एउटा सानो कोठामा रवि लामिछाने सिरक ओढेर सुतिरहेको तस्बिर सार्वजनिक भएपछि हिरासतभित्रको तस्बिर कसरी बाहिर आयो भन्ने प्रश्न शुरु भएको थियो।

गृहमन्त्री लेखकले यो घटनाबारे प्रहरी महानिरीक्षक बसन्त कुँवरसँगसमेत चासो राखेका थिए । गृहमन्त्रीले भने, ‘यो घटनाबारे आवश्यक अनुसन्धान गरी कारवाही गर्न निर्देशन दिइसकेको छु।

उक्त सार्वजनिक तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ। उक्त तस्बिर रास्वपाकै समर्थकले खिचेको पाइएको छ । हिरासतजस्तो कोठामा रवि लामिछाने सिरक ओढेर सुतिरहेको देखिने उक्त तस्वीर बुधबार रातिदेखि एक्कासी सामाजिक सञ्जालमा भाइरल भएपछि रास्वपा समर्थक डा निकोलस भुसालले सो तस्वीर आफुले खिचेको स्वीकार गरेका हुन्।

उक्त तस्बिरलाई लिएर सरकार र प्रहरीको आलोचना तथा विभिन्न खालका टिकाटिप्पणी हुन थालेपछि डा भुसालले सामाजिक सञ्जालमार्फत माफी मागेका छन् ।

उनले भनेका छन्, ‘यो फोटो रियल हो । मैले नै खिचेको हो गल्ती भएको हो माफी चाहान्छु । मबाट कसैलाई दोष लगाउने या खराब नियत थिएन । भ्रममा नपर्न अनुरोध । म स्वस्थ्य अवस्था बुझन र हौसला प्रदान गर्न गएको थिएँ ।

उनले एक युट्युब च्यानलसँग कुराकारी गर्दै उक्त तस्विर प्रहरीले सार्वजनिक नगरेको बताएका छन् । उनले आफूले रविको अवस्थाबारे जानकारी दिने उद्देश्यले प्रहरीकै अगाडी सीसीटिभी स्क्रिनबाट तस्विर खिचेको बताएका छन्।

‘मलाई त्यो कुरा गैरकानुनी भएको थाहा थिएन । चितवनबाट रातारात पोखरा लगिएपछि उहाँको स्वास्थ्य अवस्थाबारे सबै चिन्तित हुनुहुन्थ्यो। त्यसैले मैले रवि दाईको अवस्थाबारे जानकारी दिने भनेर उक्त तस्विर लिएको हुँ’ उनले भने । डा भूसालले त्यो दिन रविलाई पनि भेटेको बताएका छन्।