देउवाको गृह प्रदेशमा शेखरलाई १५ किलो मालाले स्वागत, पार्टीभित्र नयाँ तरङ्ग पैदा

धनगढी। सुदूरपश्चिमको भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालालाई धनगढीमा १५ किलोको माला लगाएर नेता-कार्यकर्ताले स्वागत गरेका छन्। कार्यकर्ताले नेता कोइरालालाई आगामी १५औँ महाधिवेशनमा सभापतिका लागि अग्रिम शुभकामना स्वरूप १५ किलोको मालाले स्वागत गरेका हुन्।

नेता कोइरालालाई धनगढी विमानस्थलमा बाजागाजा सहित भव्य स्वागत गरेका थिए। १५औं महाधिवेशनका लागि शुभकामना दिँदै नेता कार्यकर्ताले नेता कोइरालाको पक्षमा नारा समेत लगाइएको थियो।

स्वागतका लागि धनगढी विमानस्थलमा भेला भएका पार्टी कार्यकर्ताले भावी सभापति शेखर कोइराला जिन्दाबाद सुदूरपश्चिमले के भन्छ,१५औं महाधिवेशनमा शेखर कोइराला ल्या भन्छ,जस्ता कोइरालाको पक्षमा चर्को नारा लगाएका थिए। साथै,स्वागतका लागि थारु सांस्कृति झल्कने पहिरन सहित नृत्य गरिएको थियो। स्वागत गर्ने क्रममा सुदूरपश्चिमको हुड्केली नाच पनि प्रदर्शन गरिएको थियो।

नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको गृह प्रदेशमा कोइरालालाई गरिएको भव्य स्वागतले पार्टीभित्र नयाँ तरङ्ग पैदा गराएको छ। एक स्थानीय कार्यकर्ताका अनुसार यस पटक पार्टी सभापति शेरबहादुर देउवा आउँदाभन्दा पनि नेता कोइरालाको स्वागतमा बढी सहभागिता रहेको बताए।

पार्टी सभापति देउवाको कार्यशैलीबाट वाक्क दिक्क भएका सुदूरपश्चिम काँग्रेसी नेता तथा कार्यकर्तामा निकै खुसी छाएको र पार्टीभित्र नयाँ नेतृत्व आवश्यकता रहेको नेपाली कांग्रेस बझाङ जिल्ला कार्यसमिति सदस्य महेश बहादुर मल्लले बताएका छन्। दिउँसो धनगढीमै नौ ओटा जिल्लाका पार्टी कार्यकर्तालाई भेट्ने कार्यक्रम रहेका जनाइएको छ।