एनपिएलको उपाधिका लागि जनकपुर र सुदूरपश्चिम भिड्दै,कसले मार्ला बाजी ?
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल आज हुँदैछ।
त्रिवि मैदान कीर्तिपुरमा १२:१५ बजे जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच उपाधि भिडन्त हुँदैछ।
सुदुरपश्चिम पहिलो क्वालिफायरमा जनकपुरलाई नै हराएर फाइनल पुगेको हो भने जनकपुर दोस्रो क्वालिफायर खेल्दै फाइनल पुगेको हो।
एनपिएलमा सुदूरपश्चिम र जनकपुरबीच आज हुने लागेको भेट तेस्रो हो। लिग चरण र पहिलो क्वालिफायरमा यी दुई टिम आमनेसामने भइसकेका छन्। दुवै पटकको भेटमा जनकपुर पराजित भएको थियो।
प्रतियोगितामा कुल ८ खेल खेलेको सुदूरपश्चिम एक खेलमा मात्रै पराजित भएको छ। लिग चरणमा सुदूरपश्चिमलाई चितवन राइनोजले हराएको थियो।
९ खेल खेलेको जनकपुर भने तीन खेलमा पराजित भएको छ। दुई खेल सुदूरपश्चिम र एक खेल चितवन राइनोजसँगै जनकपुर पराजित भएको छ।
जनपुरका नियमित कप्तान चोटका कारण मैदानबाहिर छन्। उनको अनुपस्थितिमा टिमको कप्तानी मार्की खेलाडी आशिफ शेखले गर्नेछन्।
जनकपुर र सुदूरपश्चिमबीच यसअघि भएका दुवै खेलमा त्रिवि मैदान खचाखच दर्शकले भरिएका थिए। फाइनल खेलको टिकट पनि खुलेको केही घन्टामै सोल्ड आउट भएको थियो।
एनपिएलमा आबद्ध आठ टोलीका खेलाडी तथा प्रशिक्षकले एनपिएलको उपाधि जित्न सक्ने टोली सुदूरपश्चिम र जनकपुर हुने यसअघि विश्लेषण गरेका थिए।
जसमध्ये काठमाडौं गुर्खाजका कप्तान करण केसीले सुदूरपश्चिम टोली बलियो भएकाले उपाधि जित्ने आँकलन गरेका थिए।
यता चितवनका प्रशिक्षक उमेश पटवालले जनकपुरले उपाधि जित्ने दाबी गरेका थिए। नेपाली राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक समेत रहेका भारतका पटवालले जनकपुर सन्तुलित टोली भएकाले उपाधि जित्ने बताएका थिए।
फाइनलअघि दुवै टोलीका कप्तानले आफ्नो शतप्रतिशत दिएर उत्कृष्ट खेल्ने बताएका छन्।
दुवै टोलीका कप्तानले एकअर्काका टोलीलाई बलियो भएको बताएका छन्। यस्तै फाइनललाई एक साधारण खेलको रूपमा लिने उनीहरूको भनाइ छ।