घट्यो काठमाडौंको न्यूनतम तापक्रम
काठमाडौं।काठमाडौंको न्यूनतम तापक्रम शनिबार चार डिग्री सेल्सियसभन्दा तल झरेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान ५:४५ बजेको मापनअनुसार न्यूनतम तापक्रम ३.८ डिग्री सेल्सियस छ।
शुक्रबारको तुलनामा काठमाडौंको न्यूनतम तापक्रम ह्वात्तै घटेको हो। शुक्रबार ५ डिग्री सेल्सियस थियो।
काठमाडौंमा एक सातापछि न्यूनतम तापक्रम चार डिग्री सेल्सियसभन्दा कम भएको हो।
यसअघि गत शनिबार २ डिग्री सेल्सियस थियो। त्यसपछि आइतबारदेखि नै न्यूनतम तापक्रम ४ डिग्री सेल्सियसभन्दा माथि थियो।
आइतबार ४.५ डिग्री सेल्सियस, सोमबार र मंगलबार ४.८ डिग्री सेल्सियस, बुधबार र बिहीबार ५.१ डिग्री सेल्सियस मापन भएको थियो।
मौसमविद् सरोज पुडासैनी चिसो सिजनमा तापक्रम केही तलमाथी भइरहने बताउँछन्।
‘बदली हुँदा, गुम्म हुँदा न्यूनतम तापक्रम नघट्ने हुन्छ। आकाश सफा हुँदा तापक्रम घट्छ। मौसमी प्रणालीहरू आउँदा पनि तापक्रम घटिराख्ने हुन्छ। उनले भने।
शनिबार काठमाडौंको मौसम सफा रहने र अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसबीच रहने उनले बताए। त्यस्तै कोशी प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा शनिबार हल्का वर्षा र हिमपातको सम्भावना रहेको उनले बताए।
अन्य भूभागमा केही दिन मौस सफा नै रहने पूर्वानुमान छ।
सोमबार पश्चिमी वायु केही सक्रिय हुने र त्यसले सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा उच्च पहाडी तथा हिमाली भूभागको केही स्थानमा हल्कादेखि मध्यम हिमपात गराउन सक्ने पूर्वानुमान रहको पनि मौसमविद् पुडासैनीले जानकारी दिए।