जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलमा जनकपुरविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने भएको छ । टियू खेल मैदानमा टस जितेर कप्तान दीपेन्द्र सिंह ऐरले पहिले ब्याटिङ रोजेका हुन् ।
टसका क्रममा ऐरीले पिच ब्याटिङका लागि राम्रो हुने अनुमान गरेका छन् । १६० रनसम्म रन बनाउने आफूहरुको लक्ष्य रहेको उनले अनुमान गरे ।
त्यस्तै, जनकपुर बोल्ट्सका कप्तान आसिफ शेखले आफूहरुले टस जितेको भए ब्याटिङ नै रोज्ने बताए । उनले १७० रनभन्दा कमको स्कोर पछ्याउन सकिने आत्मविश्वास व्यक्त गरे । आजको खेल रोमाञ्चक हुने उनको भनाई थियो ।
उपाधि विजेताले ट्रफीसहित रु एक करोड १० लाख र उपविजेताले रु ५१ लाख प्राप्त गर्नेछन् । साथै तेस्रो भएको कर्णाली याक्सले रु २५ लाख र चौथो भएको चितवन राइनोजले रु १५ लाख प्राप्त गर्नेछन् ।
जारी प्रतियोगितामा दुवै टोली दुई पटक एकापसमा भिडिसकेका छन्। जसमा दुवै पटक जनकपुर बोल्ट्समाथि सुदूरपश्चिम रोयल्स हावी भएको थियो। लिग चरणको खेलमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको थियो भने पहिलो क्वालिफायरमा जनकपुर आठ विकेटले पराजित भएको थियो।