जनकपुर बोल्ट्सले जित्यो एनपीएलको उपाधी
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधी जनकपुर बोल्ट्सले जितेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई रनले पराजित गर्दै एनपिएल सिजन एकको उपाधि जितेको हो।
हाई स्कवरिङ खेलमा लाहिरु मिलान्थाले ८७ रन बनाएपछि सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य जनकपुरले ४ बल अगावै ५ विकेट गुमाएर पूरा गरेको हो।
सुदूरपश्चिमविरुद्ध लिग चरण र क्वालिफायर वानमा व्यहोरेको हारको बदला फाइनलमा लिँदै जनकपुर च्याम्पियन बनेको हो।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ८४ रन बनायो । सुदूरपश्चिमका लागि सैफ जैबले सबैभन्दा धेरै ६९ रन बनाए । यस्तै विनादे भण्डारीले ४१ रन बनाए । जनकपुरका महोम्मद मोसिन र किशोर महतोले समान तीन विकेट लिए । यस्तै ललित राजवंशी र जेम्स निशमले समान एक विकेट लिए ।
सुदूरपश्चिम अङ्कतालिकामा शीर्ष र जनकपुर दोस्रो स्थानमा रहेर फाइनलमा पुगेको हो । यसअघि लिग चरणमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले र पहिलो क्वालिफायरमा आठ विकेटले हराएको थियो।
एनपीएल विजेता जनकपुर बोल्ट्सले ट्रफीसहित एक करोड १० लाख तथा दोस्रो भएको सुदूरपश्चिम रोयल्सले ५१ लाख रुपैयाँ प्राप्त गरेको छ । त्यस्तै तेस्रो टोली कर्णाली याक्सले २५ लाख र चौथो चितवन राइनोजले १५ लाख रुपैयाँ प्राप्त गरेको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले एनपीएलको आयोजना गरेको हो । गएको मंसिर १५ गतेदेखि शुरु भएको प्रतियोगितामा आठ टोली सहभागी थिए । घरेलु क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगितामा फाइनलमा पुगेका सुदूरपश्चिम र जनकपुरसहित विराटनगर किङ्स, चितवन राइनोज, काठमाण्डौं गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स र कर्णाली याक्स रहेका थिए ।
पहिलो पटक आयोजना भएको एनपीएलले नेपालको क्रिकेटलाई देशभित्र मात्रै नभई विदेशमासमेत चर्चा कमाएको छ । यो प्रतियोगितामा कर्णाली याक्सबाट भारतीय स्टार क्रिकेटर शिखर धवनलेसमेत खेलेका छन् । साथै यो प्रतियोगिताको क्रिकेटका हस्ती ब्रायन लारालेसमेत अवलोकन गर्नुभएको थियो ।