रवि लामिछानेविरुद्ध आज मुद्दा दर्ता गरिँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध आज अदालतमा मुद्दा दर्ता गरिँदैछ। सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अभियोग दर्ता गराउन लागेको हो ।
जिल्ला प्रहरी कार्यालयले गत पुस १ गते उनी माथि छानबिन सकिएको भन्दै सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो।
पोखराको सूर्यदर्शन सहकारी ठगीमा लामिछाने माथिको अनुसन्धान सकिए पनि प्रतिवेदन अध्ययनको काम भइरहेको भन्दै २०८१ पुस १ गतेदेखि चार दिनको म्याद अदालतले थपेको थियो।
चार दिनको म्याद पुस ५ गते शुक्रबार नै सकिए पनि पुस ६ गते शनिबार सार्वजनिक बिदा भएकाले पुस ७ गते आइतबार मात्रै अदालतमा मुद्दा दर्ता गर्न लागिएको हो।
कानून बमोजिम ९० दिनभित्र अभियोजन गरिसक्नुपर्ने भएकाले अभियोजन गर्न आइतबारसम्म समयसीमा भएकाले आजै मुद्दा दर्ता गर्न लागिएको सरकारी वकिलको कार्यालयले जानकारी दिएको छ।
यसअघि शुक्रवार सहकारीका तत्कालीन अध्यक्ष एवं ग्यालेक्सी फोरके टेलिभिजनका अध्यक्ष जीबी राईसहित १९ जनाविरुद्ध मुद्दा दर्ता गरिएको थियो । बाँकी प्रतिवादी विरुद्ध आज मुद्दा गराउने तयारी गरिएको हो।
शुक्रवार मुद्दा दर्ता भएकाहरू सबै प्रतिवादीहरू फरार रहेका छन्। १९ जनाको अभियोगपत्रमा १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ बिगो कायम गरिएको छ। यसअघिको अभियोगमा १ अर्ब ११ करोड १९ लाख ४३ हजार ४५ मागदाबी थियो भने सहकारी ठगीको मात्रै मुद्दा दर्ता गरिएको थियो।