फेरि बढ्यो काठमाडौंको न्यूनतम तापक्रम
काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम शनिबारको तुलनामा आज केही बढेको छ । शनिबार काठमाडौंको न्यूनतम तापक्रम ३.८ डिग्री सेल्सियस मापन भएको थियो। आज बिहान ५ः४५ बजे ४.८ डिग्री सेल्सियस मापन भएको छ। अघिल्लो शनिबार काठमाडौंको तापक्रम २ डिग्री सेल्सियससम्म झरेको थियो।
मौसमविद् शान्ति कँडेलका अनुसार न्यूनतम तापक्रम केही घटबढ भइरहन्छ। बादलको अवस्था र सूर्यबाट आएका किरणहरू कममात्रामा जमिनबाट बाहिर फिर्ता भयो भने न्यूनतम तापक्रम केही बढ्ने उनले बताए।
अधिकतम तापक्रम आज पनि १७ देखि १९ डिग्री सेल्सियसकाबीच रहने अनुमान छ । पश्चिमी न्यूनचापीय प्रणालीका कारण सोमबार दिउँसो कर्णाली र सुदूरपश्चिममा हिमपातको सम्भावना रहेको छ। यस्तै, सोमबार राति वर्षाको सम्भावना रहेकाले पश्चिम नेपालको अधिकतम तापक्रम केही घट्ने सम्भावना रहेको मौसमविद कँडेलले बताइन्।
पश्चिमी न्यूनाचापीय प्रणालीको असर काठमाडौंसम्म नपर्ने हुँदा काठमाडौंको हकमा केही दिन अधिकतम तापक्रम घट्ने सम्भावना नरहेको उनले बताइन्। एक सातादेखि काठमाडौंको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसकाबीच छ। उनले भनिन्,अधिकतम तापक्रम घट्दा घाम पनि ताप्न पाइँदैन। तापक्रम नै कम हुने भएकाले चिसो बढी महशुस हुन्छ।