नौबिसे-मुग्लिङ सडकखण्ड आजदेखि दैनिक ३ घण्टा बन्द

फाइल तस्वीर

काठमाडौं। मुग्लिङ–नौबिसे सडकखण्ड आजदेखि पाँच दिनसम्म दैनिक ३ घण्टा बन्द हुने भएको छ। पोखरेभिर र विशालटारमा चट्टान काटेर मोड सुधार गर्नुपर्ने भएकाले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सडक बन्द गर्न लागिएको हो।

जिल्ला सुरक्षा समितिको बैठकले सडक बन्द गरेर मोड सुधारको काम गर्ने पुस ३ गते निर्णय गरेको थियो। सो निर्णय अनुसार आज पुस ७ गतेदेखि पुस १३ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सडक बन्द हुने सूचनामा उल्लेख छ।

सडक बन्द हुने अवधिभर भारी र हलुका सवारी साधनलाई रोकिने स्थानसमेत तोकिएको छ। पोखरेभिर मोड सुधारका लागि गल्छी–बैरेनी र चालिसेमा भारी सवारीसाधनहरुलाई रोकिने छ । यसैगरी हलुका सवारी साधन जरेखेत र घाटबेसीमा रोकिने छ।

विशालटार मोड सुधारका लागि भारी सवारी साधनलाई मझिमटार र बेनीघाट तथा हलुका सवारी साधनका लागि चरौदी बजार र विशालटारमा रोकिने छ। सवारी साधन रोक्दा र चलाउँदा लेन अनुशासन पालना गर्न जिल्ला ट्राफिक कार्यालय धादिङले अनुरोध गरेको छ।