कांग्रेसभित्र विचलन छ,सभापतिबाटै गुट फस्टाउने काम भयो: नेता कोइराला

काठमाडौं। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपाली कांग्रेसभित्र विचलन रहेको स्वीकार गरेका छन्। सोमबार काठमाडौंमा कृष्णप्रसाद भट्टराईको १०१ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो स्वीकार गरेका हुन्। आफूलाई ४०/६० को भागबण्डामा लागेको आरोप लागेपनि पार्टी सभापतिले सबै नेताहरूको कुरा नसुनेपछि बाध्य हुनपरेको जिकिर गरे।

‘वास्तवमा अहिले पार्टीमा हामीबीच विचलन छ। स्वीकार्नुपर्छ। अघि राजेशजीले भन्नुभयो, शेखरजी पनि अब त भागबण्डामा लागि सक्नुभयो भनेर। ४०/६० को भागबण्डा भनेर भन्नुभयो,कोइरालाले भने,मैले पहिला भनेकै हो। तर भागबण्डा भनेर चुप लागेर बस्ने त होइन नि। सभापतिजीले केही पनि सुन्दै नसुन्ने हो भने त अफ्ठ्यारोमा पर्छ। राजनीति गर्नेहरूलाई अफ्ठ्यारो पर्छ। यो हामीले बुझ्न जरुरी छ।

पार्टी सभापति देउवा पूर्वप्रधानमन्त्री स्व। भट्टराईको अनुयायी भएको बताउँदै सभापति देउवाले नै गुटलाई फस्टाइदिने गतिविधि गरेको आरोप लगाए।

अहिलेको आदरणीय सभापति किसुनजीको अनुयायी हो। गुटलाई फस्टाइदिने काम नै उहाँले गरिसकेपछि अनि अफ्ठ्यारो परिस्थिति सिर्जना हुँदो रहेछ।

अहिले जसरी देशको राजनीतिक परिस्थिति अगाडि बढेको छ। त्यो राजनीतिक परिस्थिति किसुनजीहरू भएको भए के गर्नुहुन्थ्यो भन्ने लाग्छ। बीपी, गणेशमान र अरु नेताहरू भएको भए के गर्नुहुन्थ्यो।