रवि लामिछानेको थुनछेक बहस आजबाट
पोखरा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा निलम्बित सांसद रबि लामिछानेको थुनछेक बहस आज (मंगलबार) बाट हुने भएको छ।
थुनछेक बहसका लागि उनलाई हिजो अदालतमा लगिए पनि पालो आएको थिएन। उनलाई अदालत लगिएसंगै उनी संघीय संसदको सांसद पदबाट पनि निलम्बनमा परेका छन्।
कास्की अदालतको इजलासले सुनुवाइ सकिएपछि रवि लगायतलाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षमा पठाउने भन्नेबारे आदेश दिनेछ। सरकारी वकिलको कार्यालय, कास्कीले लामिछाने, छविलाल जोशीसहित ४४ जनालाई आइतबार सहकारी ठगीको आरोपमा प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको हो।
पाँच जनालाई बिगो अनुसारको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी कायम गरिएको छ।
पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेको दिनदेखि ९२औं दिनमा सरकारले आइतबार अभियोगपत्र दर्ता गरेको हो। लामिछानेविरुद्ध भने तीन वटा कसुरमा मुद्दा दर्ता भएको छ । लामिछानेविरुद्ध सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अभियोग पत्र दर्ता गरिएको छ।