बजारमा नयाँ अर्थमन्त्रीको चर्चा, फेरि पनि सर्वसाधारणलाई भ्रममा पारेर ठग्ने दलालीहरुको दाउ
रुषा थापा
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार रहिरहँदा नेपाली काँग्रेस र नेकपा एमालेले असार १७ गते मध्यराति सरकार गठनका लागि सम्झौता गरे। काँग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच गोप्य सहमति भयो।
सहमतिअनुसार माओवादी सरकार ढालियो र संसदका दुई ठूला दलको नेतृत्वमा सरकार गठन गरियो । अर्थ मन्त्रालय एमालेको भागमा पर्यो । एमालेमा अर्थमन्त्री हुनेमा दुई जनाको व्यापक चर्चा थियो । ती हुन्, सुरेन्द्र पाण्डे र शंकर पोखरेल । एमाले नेता तथा कार्यकर्ता यी दुईमा अर्थमन्त्री बन्नुपर्ने मतमा थिए ।
आम सर्वसाधारणको पनि यँही चाहना थियो । तर, घरजग्गा, गाडी, सेयर दलाली र बैंक, वित्तिय संस्था व्यवसायीहरुले पाण्डे र पोखरेललाई अर्थमन्त्री बन्न दिएनन् । उनीहरुले प्रधानमन्त्री ओलीलाई भेटेर विष्णु पौडेललाई अर्थमन्त्री बनाउन हारगुहार गरे । त्यसपछि अन्तिममा ओलीले पार्टीमा कुनै निर्णय नै नगरी उनलाई अर्थमन्त्री बनाइदिए ।
विष्णु पौडेल अर्थमन्त्री हुनासाथ सेयरको मूल्य बढ्छ, घरजग्गा, गाडीको किनबेच बढ्छ र बैंक, वित्तिय संस्थामा कर्जा लिनेहरु बढ्छन् भन्ने अड्कलबाजी गरिएको थियो । र, यही सोचेर दलाली, व्यवसायीहरुले उनलाई अर्थमन्त्री बनाएका थिए । पौडेल अर्थमन्त्री भएपछि यस्तै भयो । केही दिन सेयरले रफ्तारो लियो ।
सेयर तीन वर्षयताकै उच्च बिन्दुमा पुग्यो । माओवादी नेता वर्षमान पुन अर्थमन्त्री हुँदा १८ सयमा झरेको सेयर एकाएक पौडेल अर्थमन्त्री बनेपछि ३१ सयसम्म पुग्यो । यता, घरजग्गा र गाडीको पनि किनबेच बढेको बताइयो । यसपछि दलाली, व्यवसायीहरुले पौडेलको वाहवाही गर्न थाले । उनकै कारणले घरजग्गा, गाडी र सेयरको मूल्य बढेको वा मूल्य अवस्थामा फर्किएको हल्ला चलाइयो ।
तर, अहिले पुनः यी तीनै क्षेत्रमा मन्दी छाएको छ । वर्तमान सरकारमा विष्णु पौडेल नै अर्थमन्त्री छन् । तापनि सेयरको मूल्य दिनानु दिन घट्दो क्रममा छ । घरजग्गा र गाडीको पनि किनबेच ठप्प छ । न त बैंक, वित्तिय संस्थामा कर्जा लिनेहरु बढेका छन् । बजारमा मन्दी कायमै रहेको छ । जसका कारण हिजो पौडेललाई अर्थमन्त्री बनाउन लबिङ गरेकाहरु अहिले उनलाई हटाउनुपर्ने माग गरिरहेका छन् ।
बजारमा मन्दी झन् झन् बढ्दै गएको छ । घरजग्गा, गाडी र सेयरको किनबेच ठप्पै छ भने बैंकमा पनि संकट निम्तिएको छ । एकातिर बैंकको खराब कर्जा बढ्दै गएको छ, अर्कोतिर निक्षेप पनि घट्दो क्रममा छ । त्यसमाथि ऋणीले कर्जा तिरेका छैनन् र कर्जा प्रवाह पनि शून्य भएको छ ।
घरजग्गा, गाडी र सेयरमा मन्दी आउनुको प्रमुख कारण आम सर्वसाधारणमा चेतना फैलिनु हो । हिजो दलालीहरुले उनीहरुलाई भ्रममा पारेर यो क्षेत्रमा लगानी गर्न लगाएका थिए । तर, अहिले सर्वसाधारणले बुझिसके कि यी क्षेत्र जोखिमपूर्ण छन् । यहाँ लगानी गरियो भने डुबिन्छ । जबसम्म जनतामा सत्यबाट अन्जान हुन्छन्, तबसम्म दलाली वा अरुले फाइदा उठाउने हो ।
अहिले दलालीहरुको दिन गएको छ । किनकि सर्वसाधारण सचेत हुँदै गएका छन् । उनीहरु कुन क्षेत्रमा लगानी गर्ने वा नगर्ने ? कति लगानी गर्ने ? लगानीका लागि बैंक, वित्तिय संस्थाबाट ऋण लिने कि नलिने ? भनेर आफैं सचेत भइसकेका छन् । त्यसैले, अब कुनै पनि दलालीहरुले चाहेर पनि सर्वसाधारण फसाउन सक्दैनन् ।
दलालीहरुले भ्रममा पारेर आम नागरिकलाई फसाउँदै आएका थिए । रोपनीको दश हजारमा खेतीयोग्य जमिन किनेर टुक्राटुक्रा बनाएर यीनीहरुले आनाकै लाखदेखि करोडौंमा बेचबिखन गरे । अनि त्यो बैंकबाट ऋण लिएर महँगोमा घरजग्गा किनेकाहरु मर्नु न बाँच्नु अवस्थामा पुगेका छन् ।
०३८ सालमा काठमाडौंको माइतीघरदेखि तीनकुनेसम्म सडकको दायाँबायाँको जग्गा रोपनीको डेढ लाखमा किनेको बताउनेहरु अहिले पनि जिउँदै छन् । यता, भक्तपुरको राधेराधेमा ०४७ सालमा रोपनीको ३० हजारमा जग्गा किनेको भन्नेहरु पनि अझै छन् । एक रोपनी जग्गामा १६ आना हुन्छ । पाँच वर्षअघि माइतीघरमा आनाकै ६ करोडदेखि ९ करोडसम्ममा बेचबिखन भएको पाइन्छ ।
यस्तै, राधेराधेमा पनि आनाकै ७० लाखदेखि डेढ करोडसम्ममा बिक्री भएको स्थानीय बताउँछन् । अनि कसरी एकाएक जग्गाको मूल्य यत्रो बढ्यो ? के सरकारले जग्गाको मूल्य बढाएको हो ? सरकारले प्रत्येक स्थानमा जग्गाको मूल्य तोकिएको छ । तर, सरकारी रेटमा जग्गा किनबेच भएको पाइदैँन । सरकारले आनाको दुई लाख मूल्य तोकेको ठाउँमा लाखौंमा किनबेच हुने गरेको छ ।
तर, त्यँही जग्गा मालपोतमा नामसारी गर्ने समयमा सरकारी मूल्यमा किनबेच भएको देखाएर त्यतिको मात्रै राजस्व तिरिन्छ । सेयर बैंकले एक सय कित्तामा निष्काशन गरेको हो । त्यँही सेयर दलाली, बिचौलियाहरुले मूल्य बढाएर पाँच– छ हजारसम्ममा बेचबिखन गरे । अटो शोरुमहरुले पनि छिमेकी मुलुकमा एकदेखि पाँच लाखमा पाइने सवारीसाधन यहाँ ल्याएर ३५–४० लाखमा बिक्री गरे ।
सहकारी, लघुवित्त, फाइनान्स, बैंकसहित व्यक्तिहरुले पनि यी तीन क्षेत्रमा लगानी गरे । दलालीको लहैलहैमा लागेर छिट्टै नाफा कमाउन आँखा चिम्लेर लगानी गरियो। घर बनाएपछि मासिक लाखौं भाडा उठाउन पाउनुका साथै घरको मूल्य समेत बढ्ने अधिकांशको सोचाई थियो । दलालीकै पछि लागेर अधिकांशले बैंक, वित्तिय संस्थाबाट ऋण लिएर घर बनाए र । जग्गा, गाडी र सेयर किने ।
तर, अहिले न घर भाडामा जान्छ न त बिक्री नै हुन्छ । एकातिर बैंकको साँबाब्याज दिनदिनै बढिरहेको छ, अर्कोतिर घरको मूल्य घट्दो क्रममा छ । फेरि मूल्य घटेपनि घरजग्गा बिक्री हुन्न।
यसले बैंक, वित्तिय संस्थाबाट ऋण लिएर घरजग्गा, गाडी र सेयर किनेकाहरु अहिले तनावमा छन् । उनीहरु रातभर निदाउन सक्दैनन्। बैंकको ऋण नतिरे धितो त जान्छ नै सँगै कालोसूचीमा पनि परिन्छ भनेर अधिकांशलाई छट्पटि भइरहेको छ ।
कतिपयले त सहन नसकेर आत्महत्या समेत गरिसके भने कतिपय डिप्रेसनमा गएका छन् । हो, यँही थाहा पाएर बजारमा घरजग्गा, गाडी र सेयरको किनबेच ठप्प भएको हो । सबैले थाहा पाइसके कि यो क्षेत्रमा लगानी गरे नराम्ररी डुबिन्छ । त्यसैले, अहिले बजारमा घरजग्गा, गाडी र सेयरमा नयाँ लगानीकर्ता भेटिदैँनन्।
त्यसो त पुरानै लगानीकर्तालाई कसरी उम्किने ? भनेर पीर परेको छ । बजारमा लगानीकर्ता नै नभएपछि अनि कसरी मुलुकको अर्थतन्त्र उभो लाग्छ ? हिजो पो दलालीहरुले सर्वसाधारण ठगि रहे अनि राज्यको ढुकुटीमा पनि राजस्व आइरह्यो। तर, अब जनता सचेत भइसके। न कसैको भ्रममा पर्ने छन् न प्रलोभनमा। यसकारण अब दलालीहरुले नयाँ अर्थमन्त्री ल्याएर सर्वसाधारणलाई भ्रममा पारेर फेरि पनि ठग्छौं भनेर नसोच्दा हुन्छ। दलालीको अनेक भ्रममा नपरौं, सचेत हौं।