युवा परिचालन गर्नमा सरकार असफल,दैनिक हजारौँ युवा र विद्यार्थी विदेशिदै ?

काठमाडौं। युवा शक्ति देशको मेरुदण्ड मात्र नभएर सर्वाधिक कर्मठ एवं सक्रिय शक्ति हो।  दक्ष जनशक्ति भनेको पनि शिक्षित युवा जमात नै हो। तर विडम्बना, नेपाल भने युवा परिचालन गर्नमा असफल भइसकेको छ। एकजना विद्वानले भनेका थिए– त्यो देश धन्यको हो जसले युवा परिचालन गर्न सक्दछ। 

बरु नयाँ–नयाँ विदेशी गन्तव्यतिर युवाहरुलाई लखेटिरहेको छ। या भनौँ, देशमा केही गरौँ भन्ने जोश–जाँगर, सीप–क्षमता र दक्षता भएका युवाहरु यहाँ गरिखाने वातावरण र सुरक्षित भविष्य नदेखेर विदेश पलायन हुन बाध्य छन्।

केही युवाहरु रहरले राम्रो अवसरको खोजीमा विदेश गइरहे पनि अधिकांश युवा विद्यार्थीहरु भने नेपाल खतम भइसक्यो,अब नेपालमा बसेर काम छैन भन्ने भावनाले थिचिएर नै बाध्यतावश विदेश गइरहेका छन्।

दैनिक हजारौँ युवा तथा विद्यार्थी विदेश जानुको जड भने राजनीतिक वातावरण हो भन्दा फरक नपर्ला। विगत ३० वर्षयता नेपालमा ठूलठूला राजनीतिक,सामाजिक, शैक्षिक परिवर्तन भए। तर राजनीतिक अस्थिरता, सत्तालिप्सा र दलहरुको अकर्मण्यताका कारण केही पनि परिवर्तनको महसुस जनताले गर्न पाएका छैनन्।

बरु झनै निराशा, बेचैनी, बेरोजगारी, अस्तव्यस्तता र आक्रोशमात्रै बढिरहेको छ। यसो हुनुमा राजनीतिक कारण नै रहेको नेपाली काँग्रेसका नेता डा.मिनेन्द्र रिजाल पनि स्वीकार्छन्। उनले बितेको ३० वर्षमा नेपालले उल्लेख्य प्रगति गरेको भए पनि युवा पलायन झन डरलाग्दो भएको बताए।

पूर्वमन्त्री समेत रहेका डा.रिजालले सोमवार एक कार्यक्रममा बोल्दै आर्थिक, सामाजिक, स्वस्थ्य र शिक्षाका क्षेत्रमा धेरै सुधार भए पनि युवाहरु भविष्यप्रति कन्भिन्स हुन नसकेको बताए।

युवाहरुले नेपालमा सुरिक्षत भविष्य देख्नै छोडेको उनको भनाइ छ। पछिल्लो समय कृत्रिम बहुमतको आधारमा सरकार बनाउने र ढाल्ने खेल भइरहेको भन्दै उनले संविधान संशोधनको माध्यमबाट एउटै पार्टीले प्राकृतिक बहुमत ल्याउने गरी व्यवस्था गर्न जरुरी रहेको उनले बताए।

पाँचपटक प्रधानमन्त्री भइसकेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पनि विद्यार्थीहरू विदेश पलायन हुने क्रम डरलाग्दो हिसाबले बढको बताउँछन्।

गत मंसिर १९ गते एक कार्यक्रममा बोल्दै उनले नेपालमा भरपर्दो वातावरण बन्न नसकेकाले कक्षा १२ पास हुने बित्तिकै विद्यार्थीहरु विदेशिने समस्या डरलाग्दो रुपमा देखिएको बताए।

देउवाले मुलुकमा सञ्चालित क्याम्पसहरु विद्यार्थीको अभावमा बन्द हुने अवस्था आएको तथ्य सम्झाए। नेपाललाई नै विदेशी विद्यार्थीका लागि गन्तव्य मुलुक बनाउनुपर्नेमा उल्टो क्याम्पस नै रित्तिने गरी नेपाली विद्यार्थी विदेश पलायन हुनु दुःखद् भएको उनको भनाइ थियो।

सभापति देउवाले अबको ४०÷५० वर्षको अनुमान गरेर मुलुकले अवलम्वन गर्नुपर्ने शिक्षा नीति निर्माण गर्नमा केन्द्रित हुनुपर्ने समेत बताएका थिए। युवालाई स्वदेशमै रहने वातावरण बनाउन शिक्षालाई रोजगारीसित जोड्न आवश्यक रहेको भन्दै उनले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मका पाठ्यक्रम समयअनुसार परिवर्तन र परिमार्जन गर्नुपर्नेमा जोड दिए।

नेपालमा बेलाबेला नेताहरुले दिने यस्ता भाषण र उजागर गर्ने तथ्यले उनीहरु साँच्चै मुलुकको भविष्यप्रति चिन्तित छन् कि भन्ने भान हुन्छ। तर सत्तामा रहँदा यी सब कुरा भुल्ने प्रवृत्ति सबै दलका नेताहरुमा व्याप्त छ। सुधार गर्नुपर्ने ठाउँमा भएकाहरुले पनि गर्नुपर्छ भन्दै भाषण मात्र गर्छन्, तर काम भने गरेर देखाउन सक्दैनन्। यही हो नेपाली राजनीतिको दीर्घ रोग।

दशकौँदेखि नेपाली जनताले काँग्रेस–एमाले र पछिल्ला दशकमा माओवादी समेतको सरकार पालैपालो परीक्षण गरिसकेका छन्। तर देशमा युवामैत्री वातावरण, रोजगारी सृजना, दीर्घकालीन विकास लक्ष्य तथा सुरक्षित भविष्यका लागि उनीहरुले सिन्को भाँच्न पनि सकेनन्। यसैको असर हो– दैनिक हजाराँै युवाहरु विदेशिनु। यो क्रम कहिले रोकिन्छ भन्न सकिन्न।