काठमाडौंमा चिसो बढ्यो,न्यूनतम तापक्रम कति ?

काठमाडौं। काठमाडौंमा ह्वात्तै चिसो बढेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस मापन भएको छ।

बुधबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस मापन भएको थियो। आज न्यूनतम तापक्रम घटेसँगै चिसो बढेको छ। मौसमविद प्रतिभा मानन्धरका अनुसार बुधबार काठमाडौंको आकाशमा बादल लागिरहेको थियो। त्यसकारण न्यूनतम तापक्रम घट्न पाएन। त्यसको तुलनामा आज कम छ। बादल हटेसँगै न्यूनतम तापक्रम घटेको मौसमविद् मानन्धरले बताइन्।

मंगलबार काठमाडौंको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस थियो। त्यसअघि पनि न्यूनतम तापक्रम ४ डिग्री सेल्सियसभन्दा केही कम र केही बढी मापन भएको थियो । मौसमविद् मानन्धरका अनुसार देशभरिको तापक्रम घट्दो क्रममा रहेको छ।

यस्तै, भोलि साँझदेखि वर्षा र हिमपातको सम्भावना भएकाले तापक्रम अझै घट्ने सम्भावना रहेको मौसमविद् मानन्धरले बताइन्। काठमाडौंमा बिहीबार अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियसकाबीच रहने अनुमान छ।