एनसेलविरुद्ध सांसद अमरेशको रिट खारेज

काठमाडौं । सर्वोच्च अदालतले सांसद अमरेशकुमार सिंहले एनसेलको सेयर बिक्रीविरुद्ध दायर गरेको रिट खारेज गरिदिएको छ। बिहीबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले सिंहको रिट खारेजको फैसला गर्दै निर्देशनात्मक आदेश जारी गरेको हो।

सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले रिट खारेज भएको बताउँदै निर्देशनात्मक आदेश जारी भएको बताए ।

उनका अनुसार एनसेललाई पारदर्शी र विधिसम्मत तरिकाले सेवा सञ्चालन गर्न सर्वोच्चले भनेको छ । त्यस्तै नेपाल दूरसञ्चार प्राधिकरणलाई पनि प्रभावकारी नियमन गर्नू गराउनू भनी निर्देशनात्मक आदेश भएको छ।

सांसद सिंहले गत वर्ष मंसिर २२ गते एनसेलको ८० प्रतिशत सेयर बिक्री रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानि पुग्ने गरी अपारदर्शी तवरमा सेयर खरिद–बिक्री भएको उनले रिटमा दाबी गरेका थिए । साथै उक्त कारोबारलाई मान्यता नदिन उनले सर्वोच्चसँग माग गरेका थिए ।

पटक पटक हेर्न नभ्याइने सूचीमा परेको रिटमा गत वर्ष पुस ९ मा न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले कारण देखाउ आदेश जारी गरी अन्तरिम आदेशका लागि छलफलमा बोलाएको थियो ।

त्यसपछि गत भदौ २८ गते न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासले पूर्ण सुनुवाइका लागि पेस गर्ने अग्राधिकार दिएको थियो। गत असोज १३ मा तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुंगानाको इजलासले मिसिल झिकाउने आदेश गरेको थियो । त्यसपछि आज रिट खारेजको फैसला भएको हो।