आजदेखि दुईदिन बदली, वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल पश्चिमी वायु र पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले रहेको छ । त्यस कारण आजदेखि दुईदिन बदली, वर्षा र हिमपात हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज शुक्रबार अपराह्न सुदूरपश्चिमबाट सुरु हुने यो अवस्था आइतबारदेखि मात्रै क्रमिक रुपमा सुधार हुने सम्भावना छ । यसको प्रभावले काठमाडौं उपत्यकामा पनि हल्का वर्षा हुने हुनेछ।
वरिष्ठ मौसमविद मीनकुमार अर्यालका अुनसार आज अपराह्नदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा वर्षा हुनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भेगका थोरै स्थानमा हिमपातको पनि सम्भावना छ।
आज राति भने सुदूरपश्चिमका केही स्थानहरु, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा हुने पूर्वानुमान छ । यो प्रणाली क्रमशः पूर्वतिर सर्दै जानेछ र काठमाडौं उपत्यकामा पनि यसको प्रभाव देखिने छ । यस्तै, काठमाडौं उपत्यकाको हकमा आज पानी पर्ने सम्भावना देखिँदैन । आज राति काठमाडौंमा बादल लाग्ने र शनिबार हल्का वर्षा हुने वरिष्ठ मौसमविद अर्यालले जानकारी दिए।
उनले भने, ‘भोलि शनिबार देशैभर साधारण बदली हुन्छ । सुदूरपश्चिम र कर्णालीका धेरै स्थानहरुमा तथा कोशी प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। काठमाडौं उपत्यकामा भोलि शनिबार हल्का वर्षाको सम्भावना छ।
यो अवस्था आइतबारबाट क्रमशः सुधार हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। आइतबार यसको प्रभाव छिटफुट मात्र रहन्छ । आइतबार पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुने सम्भावना छ । बदली पनि अलि बढी पश्चिमतिर केन्द्रित रहने छ।
आइतबार सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मात्र वर्षा हुने देखिन्छ । अन्य स्थानमा भने खासै वर्षाको सम्भावना नदेखिएको वरिष्ठ मौसमविद अर्यालले बताए।
यो प्रणालीले जाडो बढाउने छ। त्यसैले चिसोबाट जोगिन आवश्यक सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन्। आज बिहान पौने ६ बजे काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस मापन भएको छ। यो तापक्रम भोलि अझै घट्ने सम्भावना छ।