अर्को वर्षदेखि कक्षा ९,१० र ११ का विद्यार्थीले परीक्षा शुल्क तिर्नु नपर्ने
काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले अर्को वर्षदेखि कक्षा ९, १० र ११ मा अध्ययन गर्ने विद्यार्थीले परीक्षा र रजिस्ट्रेसन फारम बापतको शुल्क तिर्नु नपर्ने व्यवस्था गर्न लागेको छ।
बोर्डले कार्यान्वयनमा ल्याउन लागेको व्यवस्थाअनुसार अर्को वर्षदेखि विद्यार्थीले परीक्षा फाराम र रजिस्ट्रेसन फारामका लागि शुल्क तिर्नुपर्दैन। यसबाट झण्डै पाँच लाख विद्यार्थी लाभान्वित हुनेछन्।
परीक्षा फारम र रजिस्ट्रेसन फारम शीर्षकमा शुल्क नलिने निर्णय गरेर बोर्डले कार्यान्वयनका लागि शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयमा पठाएको राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए।
सरकारी राजस्वसँग सम्बन्धित विषय भएका कारण शुल्क नलिने बोर्डको निर्णयसहितको सिफारिसलाई शिक्षा मन्त्रालयले कार्यान्वयनका लागि अर्थ मन्त्रालयमा पठाउनुपर्ने हुन्छ।
अर्थ मन्त्रालयले आर्थिक वर्षको सुरुवात हुनुअघि संसद्मा प्रस्तुत गर्ने विनियोजन विधेयकबाट यो विषय हटाएपछि मात्रै यो निर्णय पूर्ण कार्यान्वयनमा जाने छ।
तर, चालु आवको विनियोजन विधेयकमा विद्यार्थीबाट लिइने शुल्क र त्यसबाट सङ्कलन हुने राजस्वसम्बन्धी विषय समावेश भएका कारण तत्काललाई शुल्क नलिई परीक्षा फाराम र रजिस्ट्रेसन फाराम भराउने मन्त्रालयको योजना पूरा हुन नसकेको पौडेलले बताए ।