रवि लामिछानेसँग आज पनि बयान लिइँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानसँग आज पनि बयान लिइँदैछ।जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा बिहीबार ३ घण्टा बयान लिइएको थियो। तर, हिजो बयान नसकिएकाले आज पनि उनको बयान हुने भएको हो। अदालतका सूचना अधिकारी सुरज अधिकारीले बिहीबार बयान नसकिएकाले आज पनि बयान लिइने जानकारी दिए।
बयानका क्रममा रविले अभियोगपत्रमा भनेजस्तो कुनैपनि कसुरमा संलग्न नरहेको दाबी गरेका छन् । लामिछानेमाथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरणको आरोप छ।
यसअघि गत आइतबार पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो । बयान सकिएपछि लामिछानेको थुनछेक बहस हुनेछ।
लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार सात सय रुपैयाँ बिगो दाबीसहित मुद्दा दर्ता गरिएको छ। यस्तै ७४ करोड ३४ लाख ७१ हजार रुपैयाँ बढी बिगो दाबी गरी पूर्वडीआईजी छविलाल जोशीविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दायर गरिएको हो। प्रतिवादी रामबहादुर खनालसँग १४ करोड ३० लाख ९१ हजार नौ सय ११ र पछाईंसँग २४ करोड ६७ लाख सात हजार २४ रुपैयाँ बिगो दाबी गरिएको छ।
सहकारी ठगीतर्फ लामिछानेलाई तीन करोड ३७ लाख ६५ हजार र जोशीविरुद्ध पाँच करोड २६ लाख ६५ हजार र दीपेश पुनसँग दुई करोड १४ लाख आठ हजार आठ सय ४३ रुपैयाँ बिगो माग गरिएको छ।