नेपाल कम्युनिस्ट पार्टीको राष्ट्रिय मुक्ति मार्च दोस्रो पनि निरन्तर, यो ब्यवस्थाले जनताको हित नगर्ने ठहर

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीले देशका दुई ऐतिहासिक जिल्ला झापा र कञ्चनपुरबाट सुरू भएकाे मुक्ति मार्च आज दाेस्राे दिन पनि निरन्तर चलिरहेकाे छ। स्वाधीन र समाजवादी गणतन्त्र नेपालको संकल्पसहित राष्ट्रिय मुक्ति मार्च सुरू गरिएको थियाे।  

त्यस्तै देशका दुई ऐतिहासिक तथा सामरिक जिल्लाहरु झापा र कञ्चनपुरबाट पार्टीका संयोजक वसन्त बोगटी र सह-संयोजक हरिकृष्ण गजुरेलले एकसाथ मुक्ति मार्च सुरू गरेका थिए। संसदीय व्यवस्थाबाट जनता आजित भइसकेको निश्कर्ष निकाल्दै नेकपाले नेपाललाई नयाँ र क्रान्तिकारी विकल्प दिन मार्च सुरू गरेकाे बताएकाे छ।  

मुलुक संकटग्रस्त अवस्थामा गुज्रिरहेको,संकटै–संकटले जेलिएको,विदेशी उत्पीडन,निजीकरण उन्मूलन गरी स्वाधीन र समाजवादी गणतन्त्र नेपाल स्थापनामा दृढ संकल्प व्यक्त गर्दै मुक्ति मार्च सुरू गरिएकाे साे पार्टीका नेताहरूले बताउने गरेका छन्।

सबै प्रकारको विदेशी उत्पीडन र विदेशी हस्तक्षेपबाट मुलुकलाई मुक्त गराउने उद्देश्यसहित नेपाल कम्युनिस्ट पार्टी जनताको बीचमा जान राष्ट्रिय मुक्ति मार्च अभियान सुरु गरेको बताउ छन्। 

नेपाल आर्थिक,सामाजिक र सांस्कृतिक रुपमा ग्रसित रहेको र केही मुठ्ठीभरका दलालहरुले अहिलेको अर्थतन्त्र कब्जा गरेर मुलुकलाइ भुमरीमा फसाउने काम गरेकाे नेकपाले बताउने गरेकाे छ। अहिलेकाे संसदीय व्यवस्थाकाे भण्डाफाेर गर्दै जनतालाई जागरूप गर्न मुक्ति मार्च सञ्चालन गरिएको साे पार्टीले बताएकाे छ। 

त्यस्तै नवऔपनिवेशिक उत्पादन प्रणालीद्वारा वर्तमान राजसत्ताले नेपाली जनताको आत्म निर्भर अर्थतन्त्रको मौलिक सामाजिक जगलाई भत्काई राष्ट्रिय स्रोत र सम्पदा माथि विदेशी प्रभुत्व कायम गरेको समेत आराेप लगाएकाे छ।

नेपालका उर्वर कृषि योग्य भूमिहरु बाँझो राखी कृषिजन्य उपज भारतलगायत विश्व बजारबाट आयात गर्ने निति अख्तियार गरी यसले नाङ्गो साम्राज्य भक्ति प्रदर्शन गरेको समेत बताएकाे छ।

निर्माता वा उत्पादकको आधारभूत भूमिकाबाट विस्थापित गरी नेपाली समाजलाई केवल उपभोक्ता बनाएर यसले विश्व साम्राज्यवादको सेवा गरेको समेत नेकपाले आराेप लगाउदै आएकाे छ।

यस कारण,नव औपनिवेसिक उत्पादन प्रणालीलाइ खतम गर्दै देशमा स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र निर्माणका निम्ति राष्ट्रिय मुक्ति क्रान्तिको बाटोमा अगाडि बढ्न पार्टीले आह्वान गरेकाे छ। 

सो पार्टीको केन्द्रीय कार्यक्रम अनुसार ‘राष्ट्रिय मुक्ति मार्च’को आरम्भ गर्दै पार्टीका नेताहरुले यो ब्यवस्थाबाट देश र जनताको हित नहुने बताए। पार्टीका केन्द्रीय सह संयोजक  हरिकृष्ण गजुरेलले देश र जनताको वास्तविक हितका लागि फेरि एक पटक आन्दोलनमा हामिनु पर्ने बताएका छन्।  

नेपाल कम्युनिस्ट पार्टीकाे राष्ट्रिय मुक्ति मार्चले जनतासँग प्रत्यक्ष जाेड्ने काम गरेकाे पार्टीका सह-संयाेजक हरिकृष्ण गजुरेलले जानकारी दिएका छन्। जनताका कुरा प्रत्यक्ष सुन्ने माैका पाएकाेमा आफुहरूलाइ खुशी लागेकाे सह-संयाेजक गजुरेलले बताए।