हुम्लामा भारी हिमपात, हवाई सेवा अवरुद्ध

हुम्ला । हिमाली जिल्ला हुम्लासहित कर्णालीका उच्च जिल्लामा शुक्रबार रातिदेखि भारी हिमपात भइरहेको छ। शुक्रबार दिउँसो घाम नलागेर मौसममा आएको फेरबदलले बाक्लो बादल लागेका कारण रातिदेखि हिमपात भएको हो ।

शनिबार बिहान सदरमुकाम सिमकोटमा चार इञ्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकामा दुई फिटसम्म हिउँ परेको बताइएको छ । हुम्लामा तेस्रो पटक हिमपात हुँदा किसानलाई राहत मिलेको स्थानीय गौगोरा बोहराले बताए । यतिबेला परेको हिउँले जेठासी बालीको उत्पादन राम्रो हुने हुम्लाका किसानको भनाइ छ ।

यस्तै सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकामा जनजीवन प्रभावित बनाएको छ । शनिबार बिहान हिमपात भइरहेकाले यहाँका स्थानीय चिसोले घर बाहिर निस्कन नसकेको बताइएको छ ।

हिमपात हुँदा यहाँको तापक्रम माइनसमा झरेको छ । यस्तै अन्तर जिल्ला जोड्ने एकमात्रै हवाई सेवा अवरुद्ध भएको छ । हिमपात भइरहेकाले हवाई सेवा अवरुद्ध भएको हो ।