ललितपुरमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौं। ललितपुर महानगरपालिका-१५ खुमलटारमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटीको प्राविधिक सहयोग, भरत मेडिकल प्रालि खुमलटारको विशेष सहयोग र नेपाली कांग्रेस खुमलटार टोल कार्यसमितिको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।
सो कार्यक्रममा विभिन्न रोगहरुको निःशुल्क चेकजाँच पनि भएको थियो । सो क्रममा विभिन्न नागरिकहरुले यो सेवा लिएका थिए । स्त्रीरोग, हृद्यरोग, बालरोग लगायतका विभिन्न रोगहरुको विशेषज्ञ डाक्टरहरुबाट निःशुल्क परामर्श र चेकजाँच भएको थियो । कार्यक्रममा नेपाली कांग्रेस खुमलटार टोल कार्यसमितिका सभापति श्याम राउतले स्वास्थ्य नै धन भएकाले बेलाबेला नि:शुल्क स्वास्थ्य परीक्षण गर्दै आइरहेको बताए । यसका साथै, रक्तदान जीवनदान भएकाले यसमा संलग्न सबैलाई उनले धन्यवादसमेत दिए ।
यसका साथै, ललितपुर महानगरपालिका १५ का वडा सदस्य अनुप घिमिरेले वडाले यस्ता कार्यक्रमहरुमा भरपुर सहयोग गरिरहेको बताए ।
कार्यक्रममा वडा नम्बर १५ का ४९ जनाले रक्तदान गरेका छन् । रक्तदान गर्नेहरुलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।