स्थायित्व र सुशासनकै लागि कांग्रेस-एमाले गठबन्धन:नेता काेईराला

काठमाडौं।नेपाली काँग्रेसका नेता डा.शेखर कोईरालाले राजनीतिक स्थायित्वका निम्ति नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धन सरकार बनेको बताएका छन्।

आइतबार बिहान जनकपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता कोईरालाले पटकपटक सरकार बदलिँदा विकासका काममा बाधा परेकाले अहिलेको सरकार विकासलाई गति दिनका लगि बनेको बताएका हुन्।

उनले सुशासन स्थापित गर्न, भ्रष्टाचार नियन्त्रण गर्नका लागि अहिलेको सरकार बनेको बताए। नेता कोईरालाले संविधानमा केही सुधारहरु गर्नका लागि पनि अहिलेको सरकार बनेको र एक हप्ता यता काँग्रेस र एमालेबीच सक्रियतापूर्वक काम भइरहेको बताए।

उनले संविधान संशोधन गर्दा सबै राजनीतिक दलहरुसँग समन्वय गरेर संशोधन गरिने बताए।

उनले भने,दुई ठूला दल एक ठाउँमा उभिएर हामी निर्वाचनमुखी भएर अघि बढिरहेका छौँ। ०८४ को निर्वाचनका लागि हामी अघि बढेका छौँ।

अलिकति तपाईंहरुलाई अचम्म पनि लाग्छ, यो के गरेको दुई वटा ठूला दल मिलेर सरकार बनाएका छन् भनेररु राजनीतिक स्थायित्वका निम्ति हामीले यो नेपाली काँग्रेस र एमालेको गठबन्धन गरेर चुनावमा हामी जाने भन्ने हो।

केका लागि राजनीतिक स्थायित्व भन्दा पटक पटक सरकार बदलिने र यसले विकासका कामहरु भइरहेको छैन। सुशासनका कुराहरु पनि भइरहेका छैनन्।

भ्रष्टाचारका कुराहरु पनि हामीले नियन्त्रण गर्न सकिरहेका छैन। सँगसँगै संविधानमा केही सुधारहरु ल्याउनुपर्छ भन्ने कुराहरु नेपाली काँग्रेस र एमालेमा भयो। नेपाली काँग्रेस र नेकपा एमालेको सरकार छ।

नेता कोइरालाले यो सरकारलाई असफल हुने छुट नरहेको बताए। अहिलेको सरकार असफल भए देश अराजकतातिर जाने बताए। देश अराजकतातिर जान नदिन सबै गम्भीर रहेको बताए।