नरहरिनाथ गाउँपालिकामा आमा तथा बाल स्वास्थ्य पोषण कार्यक्रमको अनुगमन सम्पन्न
कमल ब. बुढा
कालिकाेट। नरहरिनाथ गाउँपालिकास्थित योगी नरहरिनाथ आधारभूत अस्पतालमा आज जिल्ला स्तरीय आमा तथा बाल स्वास्थ्य पोषण कार्यक्रमको संयुक्त अनुगमन कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला समन्वय समिति सदस्य धनसरा बिष्टको प्रमुख आतिथ्यतामा तथा अस्पतालका प्रमुख डा.शिवनाथ यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा नरहरिनाथ गाउँपालिकाका उपाध्यक्ष कमल कुमार शाह, नि.स्वास्थ्य सेवा व्यवस्थापक डा.प्रकाश पौडेल, र MDI नेपालका कार्यक्रम संयोजक टोप बहादुर शाही विशेष अतिथि रहेका थिए।
कार्यक्रममा बोल्दै MDI नेपालका कार्यक्रम संयोजक टोप बहादुर शाहीले अनुगमन कार्यक्रम स्वास्थ्य सेवाको प्रभावकारी कार्यान्वयन,अनुगमन, र मूल्यांकनका लागि आयोजना गरिएको बताए। यसले आमा तथा बालबालिकाको स्वास्थ्य,पोषण र सेवाको गुणस्तर सुधार गर्न महत्वपूर्ण योगदान पुर्याउने उनको भनाइ थियो।
गाउँपालिकाका उपाध्यक्ष कमल कुमार शाहले मातृ तथा शिशु स्वास्थ्य सुधारका लागि सरकारी, गैरसरकारी र स्थानीय निकायबीच समन्वय गर्दै अनुगमन कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए। उनले स्वास्थ्य सेवाको प्रभावकारिता तथा पोषण सुधारका उपायहरूको समीक्षा र समस्या समाधानका लागि यो कार्यक्रम उपयोगी हुने बताए।
कार्यक्रमका अध्यक्ष डा.शिवनाथ यादवले ग्रामीण तथा पिछडिएका समुदायमा लक्षित यो कार्यक्रमले आमा र बालबालिकाको स्वास्थ्य सेवामा सुधार ल्याउने विश्वास व्यक्त गरे। उनले समुदायको सहभागिता सुनिश्चित गर्दै पोषण कार्यक्रमलाई प्रभावकारी र पारदर्शी बनाउने प्रतिबद्धता जनाए।
कार्यक्रम सञ्चालन योगी नरहरिनाथ आधारभूत अस्पतालका सिनियर अ.हे.ब. धन बहादुर सहकारीले गरेका थिए। यो अनुगमन कार्यक्रमले आमा तथा बाल स्वास्थ्य सेवाको गुणस्तर वृद्धि गर्न र पोषणसम्बन्धी समस्याहरू समाधान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।