ओलीमाथि खतराको घण्टी,कांग्रेसबाटै प्रहार ?
काठमाडौं। सत्तारुढ दलभित्र राजनीतिक घोचपेच शुरु भएको छ। कांग्रेसले सत्ताको नेतृत्व गरेको दल नेकपा एमालेमाथिका आशंकाहरुलाई थप सार्वजनिक गर्न थालेको छ। कांग्रेसले देखाइरहेको राजनीतिक बाटो र कांग्रेसलाई बोक्दै प्रतिपक्षीलाई लखेटिरहेको एमालेबीचको शक्ति सन्तुलन सप्रिएला त ?
सत्तामा अहिले दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले छन्। उनीहरुले सत्ता गठबन्धन आगामी निर्वाचनसम्मै रहने दाबी गरेपनि सरकारको आलोचना चरम बनिरहेको छ। सरकारले काम गर्न नसकेको र गति समात्न नसकेको आरोप लगाइरहेको नेपाली कांग्रेस प्रतिपक्षमाथि कम मात्रामै पेश हुने गरेको छ।
कांग्रेसले प्रतिपक्षी दलमाथि खासै आक्रोश पोखेको देखिन्न। तर, एमालेमाथि कांग्रेसले अप्रत्यक्ष रुपमै भएपनि निशाना साँध्न थालेको छ। महतले कम्युनिस्ट पार्टीको नाम लिदै एमालेमाथि व्यङ्ग्य प्रहार गरेका छन्।
महतले नेतृत्वमाथि प्रश्न गरेकै भरमा कारबाही नहुने र प्रताजान्त्रिक मूल्य मान्यतामा अडिग पार्टी कांग्रेसमात्रै रहेको भन्दै एमालेले भीम रावलसहितका नेताहरुमाथि गरेको कारबाहीलाई निशाना बनाएका छन्।
यसरी नै संविधान संशोधन गर्ने भन्दै कार्यदल बनाउने भनिरहेको सत्ता गठबन्धनले सरकारमाथि विभिन्न दबाब दिइ रहेको छ। कांग्रेस नेता डा. शेखर कोइरालाले संविधान संशोधनमा कांग्रेस–एमाले मिलेर मात्रै नहुने भनिरहेका छन्।
कोइरालाले दिएको यो अभिव्यक्ति सुन्दा सामान्य लागेपनि राजनीतिक अर्थले ठूलो रहस्य बोकेको छ। संविधान संशोधनमा अहिलेको सत्ता गठबन्धनसँग दुई तिहाई मत प्रष्ट छ। उनीहरुले संविधान संशोधन गर्न सक्छन्। तर, संविधानको मुख्य हिस्सेदारमा माओवादी केन्द्र समेत रहेकाले उनीहरुले राजनीतिक माहोल बिगार्ने अभिव्यक्ति दिने गरेका छैनन्।
यस्तोमा माओवादी केन्द्र पनि प्रधानमन्त्री केपी ओलीमाथि नै निशाना बनाउनेमै केन्द्रित छ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गिरिबन्धु टिस्टेटको छानविनको विषयदेखि यति, ओम्नी, वाइडवडी प्रकरणको अनुसन्धान गर्ने भन्दै कांग्रेसलाई खास जोड्ने गरेका छैनन्।
माओवादी र कांग्रेसबीच सामान्यबाहेकका विवाद सतहमा नदेखिदा प्रधानमन्त्री केपी ओली भने माओवादीमाथि नै पेचिलो पेश हुने गरेका छन्। ओलीले माओवादी अध्यक्ष प्रचण्डलाई कुनैबेला जादूयी नम्बर भएकाले सरकारबाट कसैले हटाउन सक्दैन भनेको विषयलाई अहिले सार्वजनिक टिप्पणीको विषय बनाइरहेका छन्।
ओलीले सरकारमा कांग्रेस–एमालेको सत्ता गठबन्धन बनिसकेपछि यो टिप्पणी किन आवश्यक ठाने ? त्यो नै रहस्यको विषय छ। अहिले भूराजनीतिक परिस्थितिले पनि चेपिएका ओलीले यसरी माओवादीलाई अर्थहीन टिप्पणीबाट प्रहार गर्नुपर्ने स्थिति आइलागेपछि सत्ता गठबन्धनको आयु र भविष्यबारेका शंका थप बलिया बनिरहेका छन्।