छविको बयानले रवि अप्ठेरोमा: अदालतमा रवि–छवि आमुन्नेसामुन्ने
काठमाडौं। कास्की जिल्ला अदालतमा सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितको बयान चलिरहँदा छविलाल जोशीको बयानले रविलाई अप्ठेरोमा पारेको छ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेसहित तीन जनाको बयान सकिँदा सबैले जीबी राईलाई दोष दिए पनि छविलाल जोशीले भने रविलाई पनि मुछेपछि अप्ठेरो परेको हो।
रवि,छवि र नेटवर्ककै अध्यक्ष गितेन्द्रबाबु (जीबी)राईकी प्रेमिका भनिएकी लीला पछाईको बयान सकिँदा सबैले जीबीलाई आरोप लगाए पनि छविले रवि र जीबी दुवै मिलेर टिभी खोलेको र यो विषय रविलाई थाहा भएको बयान दिएका छन्।
छविले भने रविको नाम लिँदै उनी र जीबी मिलेर सहकारीको रकम गोरखा मिडियामा ल्याउने योजना बनाएको बताएर रविलाई अप्ठेरो पारेको भन्दै रास्वपाका नेताहरू आपसमा गुनासो गरिरहेका छन्।
यता,रविले जीबी र छविलाई दोष लगाइरहँदा छविले रविलाई नछाडेका हुन्। छविले बयानमा गोरखा मिडिया नेटवर्कको बैंक खातामा रकम जुटाउने कार्य जीबीले गर्ने गरेको र बैंकमा मौज्दात रहेको रकम खर्च गर्ने काम रविले गरेको बयान दिएका छन्।
रविले छविको बयानलाई स्विकार्दै आफूले संस्थाको निर्णयअनुसार चेक काटेर भुक्तानी गर्ने गरेको स्वीकार गरेका छन्। तर, सहकारीको रकम ल्याइएको विषय छविलाई थाहा हुनुपर्ने भनेर रवि पन्छिएपछि छविले रवि र जीबीको मिलेमतो रहेको बयान दिएका थिए। जीबी राईकी प्रेमिका भनिएकी लीलाले आफूलाई जीबीले भने गराएअनुसारको काम गरेको बयान अदालतमा दिएकी छिन्।
कास्की जिल्ला अदालतमा न्यायाधीश नितिज राईको इजलासमा धमाधम बयान भइरहेको छ। आइतबार प्रतिवादीहरू रामबहादुर खनाल, देवकुमार नेपाली, ओमप्रकाश गुरुङ र कृष्णबहादुर गुरुङको बयान थियो।
आइतबार बयान दिएका रामबहादुर खनालले पनि जीबी राईकै नाम लिएका थिए । सरकारी वकिल कार्यालयका अनुसार यो साताभित्रै नियन्त्रणमा परेका सबै प्रतिवादीको बयान सकाएर थुनछेक बहस शुरू हुनेछ।
अदालतमा रवि र छविको बयान बाँझिएपछि रविका समर्थहरू अहिले अत्तालिएका छन्। सरकारी वकिल कार्यालयले ४४ जनालाई प्रतिवादी बनाएको छ। जसमा सम्पत्ति जफततर्फ छविकै श्रीमती पद्मा बञ्जाडे जोशी, छविका छोरा रोचक जोशी, रामबहादुरकी श्रीमती राधा पछाई र रविकी श्रीमती निकिता पैडेललाई प्रतिवादी बनाइएको छ। प्रतिवादीहरूले १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ रुपैयाँ ३ पैसा रकम अपचलन गरेको आरोप छ।
उनीहरूले आफूहरूले व्यक्तिगत लगानीसमेत नगरी सहकारी संस्थाको रकम अपचलन गरेर संस्थालाई हानी नोक्सानी गराएको देखिन्छ। कास्की जिल्ला अदालतमा थुनछेक बहस भएसँगै रविलाई थुनामा नपठाई धरौटीमा छाडेको अवस्थामा तत्कालै त्यहाँबाट मुद्दा अभियोजनका लागि रुपन्देही अदालतमा पेस गर्ने तयारी भैरहेको छ।
सूर्यदर्शन सहकारीको रकम गोरखा मिडियामा लगेर अपचलन गरेको आरोप प्रतिवादीहरूलाई लागेको हो। गोरखा मिडियामा सूर्यदर्शनसँगै, कालिमाटीको स्वर्णलक्ष्मी, चितवनको सहारा, पर्साको सानोपाइला र रुपन्देहीको सुप्रिम सहकारीको रकम लगेर अपचलन गरेको आरोप प्रतिवादीहरूमाथि छ।
सरकारी वकिलको कार्यालयले गत आइतबार रविसहित ४४ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो। जसमध्ये ८ वटा कम्पनी र पाँच जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको हो। अन्यविरूद्ध सहकारी र सङ्गठित अपराधमा मुद्दा दायर भएको छ।
सम्पत्ति शुद्धीकरणमा रवि, पूर्वडिआइजी छवि, उनका साझेदार रामबहादुर खनाल, लीला पछाई र जीवी राईविरूद्ध मुद्दा दायर भएको हो। जीवी फरार छन् भने अन्य चारै जना प्रहरी हिरासतमा छन्।
रविविरुद्ध चारवटा कसुरमा छुट्टाछुट्टै सजायको माग गरी मुद्दा दायर भएको छ। सहकारी ऐन २०७४, सङ्गठित अपराध निवारण ऐन, २०७०, सम्पत्ति शुद्धीकरण ऐन, २०६४ र मुलुकी अपराध संहिता २०७४ को एकीकृत कसुर अनुसारको सजाय माग गर्दै मुद्दा दायर गरेको हो।
रविविरूद्ध सुर्यदर्शन बचत तथा ऋण सहकारीको बचत रकम अपचलन गरेको पहिलो कसुरमा आरोप दायर भएको छ। यसमा रविको मात्रै तीन करोड ३७ लाख ६५ हजार रुपैयाँ बिगो कायम गरेको छ।
यस कसुर अनुसार एक करोड भन्दा बढी १० करोड रुपैयाँसम्म बिगो भएमा चार वर्षदेखि ६ वर्षसम्म कैद सजायको माग सरकारी वकिलले गरेको छ। रविविरूद्ध अर्को कसुर सङ्गठित अपराधको छ। सङ्गठित अपराध निवारण ऐन, २०७० को दफा ३ अनुसार कसुर गरेको आरोप रविमाथि छ।