हुम्लाको सर्केगाड गापाका तत्कालीन अध्यक्ष भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिकाका तत्कालीन अध्यक्ष कृष्ण रोकायालाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।

अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले मंगलबार स्वार्थ बाझिनेगरी कृषि अनुदान लिएर भ्रष्टाचार गरेको आरोपमा रोकायालाई ९ लाख ७५ हजार रुपैयाँ बिगो र सोही बराबर जरिवाना हुने फैसला सुनाएको छ।

परिवारका सदस्यको नाममा फर्म स्थापना गरी कृषि अनुदान दुरुपयोग गरेको आरोपमा उनी दोषी ठहर भएका हुन्।

विशेष अदालतले गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाहीलाई पनि भ्रष्टाचारको आरोपमा दोषी ठहर गर्दै त्यति नै कैद, असुलउपर र जरिवानाको फैसला गरेको छ।