आज चार संसदीय समितिको बैठक बस्दै
काठमाडौं। संघीय संसदअन्तर्गत आज चार वटा संसदीय समितिको बैठक बस्दैछ । संसद सचिवालयका अनुसार कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति, पूर्वाधार विकास समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको हो।
बिहान ११ बजे कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्दैछ। बैठकमा भूमिमा रहेको अव्यवस्थित बसोवासका सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ। त्यस्तै बिहान ११ बजे नै बस्ने पूर्वाधार विकास समितिको बैठकमा समितिमा प्राप्त उजुरीका सम्बन्धमा छलफल हुनेछ।
त्यसैगरी बिहान ११ बजे नै बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिले मिति २०८१/०५/११ गते मन्त्रालयलाई दिएको निर्देशनको कार्यान्वयन अवस्थाका सम्बन्धमा छलफल हुनेछ।
उता, दिउँसो सवा २ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका पदाधिकारीहरूसँग छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।