ओली र देउवामाथि प्रहार गर्दै प्रचण्डको देश दौडाहा,के जनताले विश्वस गर्लान त ?
काठमाडौं। प्रतिपक्ष दलका नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पछिल्लाे समय देश दौडाहामा रहेका छन्। उनको पछिल्लो सक्रियता देख्दा सरकारको कार्यशैलीबाट निराश भएका जनताको विश्वास जित्न र जनमत बटुल्ने रणनीतिमा देखिन्छन्। माओवादीको निसानामा भने सत्ता समीकरणको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली अग्रपंत्तिमा देखिन्छन्।
एमाले, कांग्रेस एकहुँदा सबैभन्दा बढी ट्राजिटीमा कोही छ भने नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड छन्। ओलीसँग कुम जोड्दै सत्ताको भ¥याङ चढेका प्रचण्ड एकाएक ओली र शेरबहादुर देउवाबीच सहकार्य हुँदा उनको सपना चकनाचुर हुन पुग्यो।
जसका कारण रन्थनिएका उनी पछिल्लो समय तिनै ओलीविरुद्ध आगो ओकलिरहेका छन्। यसक्रममा उनले ओलीलाई धोकेबाज, जाली, कपटी तथा बेइमानी नै करार गरेका छन्। ओलीलाई विभिन्न संज्ञा दिँदै उनी पूर्व पश्चिम दौडाहामा व्यस्त छन्।
सोमबार प्रधानमन्त्री ओलीकै गृहजिल्ला झापामा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले ओलीमाथि गम्भीर आरोप लगाए। उनले ‘अहिलेका प्रधानमन्त्री देशकै जाली, झेली, कपटी, बेइमानी भएको र ओलीलाई ‘जालझेल बाहेक अरु केही नआउने भन्दै आक्रोश पोखे।
यस्तै, कञ्चनपुरको पुनर्वासमा शनिबार आयोजना गरिएको खबरदारी तथा पार्टी एकता समायोजन सभालाई सम्बोधन गर्दै उनै प्रचण्डले ‘भ्रष्टाचारको पक्षमा यो सरकार बनेको आरोप लगाएका थिए। उनले माओवादी सत्तामा गए गिरीबन्धुको फाइल खोल्ने पनि दाबी गरे।
ओम्नी र वाइडबडीमा भएको भ्रष्टाचारलाई नछोड्ने र फाइल खोलेरै छाड्ने चेतावनी दिए।प्रचण्डले माओवादी बलियो भएमा देशमा सुशासनको युग सुरु हुने,भ्रष्टाचारीलाई लखेट्ने प्रतिक्रिया दिँदै कार्यकर्तालाई हौसाउने काम गरे ।
सत्ताच्युद भएसँगै प्रतिपक्षमा पुगेका प्रचण्डले ओलीबाट भएको धोकाप्रति आक्रोश पोख्नुका साथै प्रतिशोध नै साँधेर हिँडेको देखिन्छ। सत्ता बाहिर पुगेसँगै मुख्य प्रतिपक्षी बनेको माओवादीले विपक्षी साना दलहरुलाई एकताबद्ध बनाउने र सरकारको गलत कार्यको विरोध गर्ने मुख्य भूमिका निर्वाह गर्नु पर्ने हो। तर, प्रतिपक्षी शक्तिलाई सशक्त बनाउने भन्दा पनि अध्यक्ष प्रचण्ड सत्तारुढ दलहरुमाथि खैरो खन्न बढी उद्यत छन्।
सरकारले प्रतिपक्षमा रहेका नेताहरुलाई छानीछानी विभिन्न अभियोगहरु लगाउँदै मुद्दा चलाउँदा पनि विपक्षीको सबै भन्दा ठुलो दल भए पनि माओवादीले प्रभावकारी भूमिका खेल्न सकेको छैन।
माओवादी हाल सत्ताको नेतृत्व गरिरहेको एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीमाथि मात्रै निसाना साँधेर सरकारको खेदो खन्न व्यस्त छ।पछिल्लो समय माओवादी नेताहरुको एक पछि अर्को अभिव्यक्तिलाई हेर्दा यसमा थप बल पुगेको छ।
माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वर्तमान कांग्रेस–एमालेको सरकारले सही काम नगरेमा माओवादी केन्द्र जनताको एजेण्डा बोकेर सडकमा जाने बताउन भ्याएका छन्। वर्तमान सरकार जनताको चाहना पूरा गर्नु भन्दा बिचौलिया, भ्रष्टाचारी र सुशासनका बाधकहरूको रूचि अनुसार बनेको उनको दाबी छ।
उनले राष्ट्रियता र जनतन्त्रका मुद्दालाई नजर अन्दाज गरेमा सरकारविरूद्ध माओवादी सडकमा उत्रने चेतावनी समेत दिएका छन। माओवादी केन्द्र प्यूठान जिल्ला, नौबाहिनी गाउँपालिकाको तेस्रो अधिवेशनमा बोल्दै पुनले भुटानी शरणार्थी काण्डमा बचाउन आग्रह गर्दै देउवाले बालकोट पुगेर ओलीलाई प्रधानमन्त्री पद किस्तीमा राखेर चढाएको आरोप लगाए। सुशासनको अभियान कमजोर बनाउन बिचौलियाहरूको डिजाइनमा सरकार बनेको उनको दाबी छ।
अधिल्लो पटक सरकारमा हुँदा करिब १८ महिना नेतृत्व गरेको माओवादी केन्द्र सत्ता बाहिर हुँदा भने विभिन्न काण्डका फाइलहरु खोल्ने भन्दै जनताको विश्वास जित्ने रणनीतिमा लागेको छ।
सरकारमा रहेका दलका नेताहरु जोडिएका नक्कली भुटानी शरणार्थी काण्ड, गिरीबन्धु, बासबारी छाला जुत्ताजस्ता काण्डमा छानबिन नगरिएको आरोप माओवादीले सरकारमाथि लगाउँदै आएको छ।
यस्तै एमाले – काँग्रेसले गठबन्धन सरकार बनाए पनिसत्ता बाहिर रहेको माओवादीलाई उपनिर्वाचनमा जनताले दोस्रो दल बनाएको दाबी उनीहरुको छ। जनताले कांग्रेस–एमालेलाई दण्डित गरेको र आगामी चुनावमा यो अझ बढ्ने भन्दै माओवादीका नेताहरु हौसिएका छन्।
आगामी चुनावमा कांग्रेस एमालेसँग गठबन्धन नगरी जनताको एजेण्डा लिएर जनताकै कित्ताबाट एक्लै चुनाव लड्ने योजनामा माओवादी देखिन्छ।उपनिर्वाचनमा प्राप्त सकारात्मक परिणामले कोमामा रहेको माओवादीमा केही प्राण भरिएको छ।
यद्यपि, जनताको विश्वास जित्ने रणनीतिका साथ माओवादीले एमाले कांग्रेसमाथि औँला उठाउँदै गर्दा आफ्ना दलका नेता जोडिएका सेरा जग्गा प्रकरण, क्यानटोनमेन्ट काण्ड, एनसेल काण्ड, सुन काण्डमा अनुसन्धान गर्ने दुस्साहस राख्ला ?
यो भने सोचनीय विषय देखिन्छ। साथै, निरन्तर ९ वर्ष सरकारमा रहेको माओवादी अहिले प्रतिपक्षी कित्तामा पुगेपछि पानीमाथिको ओभानो बन्ने प्रयासमा देखिनु आफैँमा कति सान्दर्भिक होला ?
आफु सत्तामा हुँदा चुइक नबोल्ने माओवादी सत्ता बाहिर हुँदा भ्रमको खेति गरेर जनतालाइ आक्रशित गर्ने ध्याउनामा लाग्नु दुखद विषय भएको बताइन्छ। सत्तामा हुँदा ओली देउवाको डिजाइनमा चल्ने प्रचण्ड अहिले सत्ता बाहिर हुँदा भ्रष्टचारका फाइल खोल्छु भन्दा जनताले पत्याउने अवस्था भने देखिएको छैन।