माधवजी र म एक हुने भयौं: नेता गौतम

काठमाडौं । नेकपा एकीकृत समाजवादी प्रवेशको तयारीमा रहेका नेता वामदेव गौतमले पछिल्ला छलफलहरू सकारात्मक भएको बताएका छन् ।

बुधबार एकीकृत समाजवादीको पार्टी कार्यालयमा भएको छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । भीम रावलजी के गर्नुहुन्छ रु भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफमा गौतमले भनेका छन्, ‘त्यो मलाई थाहा छैन । माधव जी र म एकजुट हुने भइयो नि त । माधवजीले नै भीम रावललाई के गर्ने गर्नुहोला, मलाई थाहा भएन ।

नेताहरूका अनुसार केही राजनीतिक विषयबाहेक अन्य विषयमा मोटामोटी सहमति भएको छ । ‘छलफल सकारात्मक भएको छ, अब चाँडै निर्णय पनि आउँछ,’ पार्टीका उपाध्यक्ष जगन्नाथ खतिवडाले बताए।

उनका अनुसार प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको विषयमा गौतमले प्रश्न राखेका थिए। ‘उक्त विषयमा पनि आज निकैबेर छलफल भयो। लगभग सहमतिको दिशामा गएका छौं,’ खतिवडाले भने।

समझदारी विकास गर्ने गर्दै अघि बढ्ने सहमति भएको भन्दै गौतमले भनेका छन्, ‘हामीले एकताको घोषणा निर्णय भएपछि भन्छौं । अब धेरै समय लाग्दैन होला।