‘विज्ञको सुझावका आधारमा संविधान संशोधन गर्नुपर्छ’
नेपालगन्ज। जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले ठूला दल मिलेर सरकार बनेपनि सुधारका कुनै सकारात्मक सन्देश देखा पर्न नसकेको बताएका छन्।
अवधि पत्रकार संघ नेपालले बिहीबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा यादवले ठूला दल मिलेर सरकार बनाएको धेरै दिन भएपनि सुधारका कुनै सकारात्मक सन्देश देखा पर्न नसकेको बताएका हुन्।
नयाँ सरकार बनेपछि पनि आर्थिक, राजनीतिक, प्रशासनीक, बिकास निर्माण लगायतका क्षेत्रमा कुनै सुधार हुन नसकेको उनको भनाइ छ।
अध्यक्ष यादवले अहिलेको संविधानलाई परिमार्जन गर्नका लागि आफुहरुले धेरै अघि नै आन्दोलन गरेको भन्दै अब संविधान संशोधन र परिमार्जन आवश्यक रहेको धारणा राखे।
विज्ञ सम्मिलित आयोग बनाई त्यसले दिएको सुझावलाई आधार मानेर संविधान संशोधन र परिमार्जन गर्नुपर्ने उनले बताए। अध्यक्ष यादवले संघीय सरकारले आवश्यक कानून बनाउन नसक्दा सङ्घीयता र गणतन्त्र संस्थागत गर्न कठिनाइ देखिएको धारणा पनि राखे।