सहकारी ठगी प्रकरण: आजदेखि प्रतिवादीतर्फको पालो, रविलाई जोगाउन १५ कानुन व्यवसायीले बहस गर्ने

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आजदेखि प्रतिवादीका तर्फबाट बहस हुँदैछ ।

कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा जाहेरवाला तर्फको बहस हिजो ९बिहीबार० सकिएपछि आजदेखि रास्वपा सभापति रवि लामिछानेसहित प्रतिवादीका तर्फबाट कानुन व्यवसायीले बहस गर्ने भएका हुन्।

बिहीबार एक सय २१ जना सहकारी पीडित ९जाहेरवाला०का तर्फबाट ६ जना कानून व्यवसायीले बहस गरेका थिए ।

आज भने प्रतिवादी पूर्वडिआइजी छविलाल जोशीका ६ जना कानुन व्यवसायीले बहस गर्नेछन् । त्यसपछि रवि लामिछानेका १५ जना कानुन व्यवसायीले बहस गर्नेछन् ।

लिला पछाईंका तर्फबाट १ जना कानुन व्यवसायीले बहस गर्नेछन् भने बाँकी प्रतिवादीका तर्फबाट २र२ जना कानुन व्यवसायीले बहस गर्नेछन् ।

आज सुरुमा पूर्वडिआइजी जोशीका ६ जना कानुन व्यवसायीले बहस गरिसकेपछि मात्रै आफुहरुको पालो आउने लामिछानेका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता नारायण घिमिरेले जानकारी दिए ।

प्रतिवादीका तर्फबाट बहस सकिएपछि पुनः सरकारी वकिलले जवाफी बहस गर्नेछन् । सरकारी वकिलको तर्फबाट बुधबार बहस सकिएको थियो । बहसका क्रममा लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, लीला पछाईं, रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङ इजलासमै उपस्थित थिए ।

सात जनामध्ये लामिछाने, जोशी र खनाललाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण, पछाईलाई सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण र राष्ट्र बैंक ऐन ०५८ को अभियोग लगाइएको छ भने अन्य तीन जनालाई सहकारीको रकम ठगीको अभियोग लगाइएको छ।