नरहरिनाथ गाउँपालिकामा जनकल्याण स्वावलम्बन सहकारी संस्थाको १५औँ वार्षिक साधारण सभा सम्पन्न
कमल काेपिला
कालिकोट। कालिकोटको नरहरिनाथ गाउँपालिकामा श्री जनकल्याण स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्थाको १५औँ वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ। “सहकारीमा आबद्धता, सुशासनमा हाम्रो प्रतिबद्धता” भन्ने मूल नारासहित आयोजित यस सभाको अध्यक्षता संस्थाका अध्यक्ष दीपक बटालाले गर्नुभएको थियो।
कार्यक्रमको उद्घाटन सहकारीका पूर्व अध्यक्ष र हालका संरक्षक हिरामणि उपाध्यायको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। साथै,कार्यक्रममा जिल्ला सहकारी संघका सचिव, सरोकारवालाहरू, सहकारीका शेयर सदस्यहरू, पत्रकारहरू, र स्थानीय समुदायको उत्साहजनक उपस्थिति रहेको थियो।
साधारण सभामा संस्थाका सचिव शंकर प्रसाद उपाध्यायले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रतिवेदनअनुसार, सहकारी संस्थाले आफ्नो स्थापनाकालदेखि हालसम्म आइपुग्दा विभिन्न क्षेत्रमा महत्त्वपूर्ण फड्को मार्न सफल भएको छ।
विशेषगरी, यस संस्थाले नेपाल सरकारको सहकार्यमा सदस्यहरूको जीविकोपार्जन सुधार गर्ने उद्देश्यले थुप्रै उत्पादनमूलक र सीप विकासका कार्यक्रमहरू सञ्चालन गरेको छ।
हातेहोजियारी तालिम, बाख्रा पहिचान कार्यक्रम, ढाका बुनाई, दालमोट उत्पादन, सुधारिएको चुलो निर्माण, र सहकारी भवन निर्माणजस्ता कार्यक्रमहरूले समुदायको जीवनस्तरमा सकारात्मक प्रभाव पारेका छन्।
सामाजिक विकासमा पनि संस्थाको उल्लेखनीय भूमिका रहेको प्रतिवेदनमा जनाइएको छ। खुल्ला दिशामुक्त र धुवाँमुक्त गाउँ घोषणा गर्न संस्थाको ठोस प्रयासले महत्त्वपूर्ण योगदान पुर्याएको हो।
हाल नरहरिनाथ गाउँपालिकाका विभिन्न क्षेत्रमा विस्तार भइसकेको सहकारीमा जम्मा ३९५ शेयर सदस्य रहेका छन्। सहकारीको कुल कारोबार रकम ६५ लाख रुपैयाँ रहेको छ।
साधारण सभामा आगामी आर्थिक वर्ष २०८१/८२ का लागि महत्वाकांक्षी योजना सार्वजनिक गरियो। संस्थाले आगामी वर्ष नरहरिनाथ गाउँपालिकाका प्रत्येक वडामा कार्यक्षेत्र विस्तार गरी ३००० सदस्य बनाउने लक्ष्य राखेको छ। साथै, तिस लाख रुपैयाँ पुँजी संकलन र परिचालन गरी कृषि उत्पादन, संकलन, र बजारीकरणका कार्यक्रमहरू सञ्चालन गर्ने प्रस्ताव पारित गरिएको छ।
सदस्यहरूको आर्थिक सशक्तिकरणमा जोड दिँदै सहकारीले आगामी वर्षभित्रै सुपथ मूल्य पसल स्थापना गर्ने र विभिन्न व्यवसायिक तालिम कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ। साथै, नेपाल सरकार र सरोकारवाला निकायसँग सहकार्य गर्दै कृषि, पशुपालन, र व्यापारका क्षेत्रमा थप योजना अघि बढाउने लक्ष्य राखिएको छ।
कार्यक्रमको अन्त्यमा सहभागीहरूले सहकारीका भावी योजनाहरूको प्रशंसा गर्दै संस्थाको संस्थागत क्षमता विकास र आर्थिक रूपान्तरणमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
कार्यक्रमको सञ्चालन सचिव शंकर प्रसाद उपाध्यायले गर्नुभएको थियो। साधारण सभा भव्य रूपमा सम्पन्न भएकोमा सहभागीहरूले खुसी व्यक्त गर्दै सहकारीको उज्ज्वल भविष्यका लागि शुभकामना व्यक्त गरेका छन्।