बैंकका कर्मचारीहरु धमाधम जागिर छोड्दै,धितो बिक्री नभएर तनाव

 अहिले बैंकका कर्मचारीहरु जागिर छोड्न थालेका छन्। नाम चलेकै बैंकमा कार्यरत रहेका कर्मचारीहरुले पनि धमाधम जागिर छोडिरहेका छन् । जसरी सहकारी डुबेपश्चात् त्यहाँका कर्मचारीहरुले जागिर छोडेका थिए। बैंकमा समस्या निम्तिसकेको प्रमाणित भइसकेको छ । बैंकले ऋणको साँवाब्याज उठाउन सकिरहेको छैन।

ऋणीले कर्जा नतिरेपछि धितो लिलाम प्रक्रिया अघि बढाइएको छ । तर, धितो लिलाम गरेर मात्रै के गर्नु ? त्यो पनि त बिक्री हुनुपर्यो नि । परिवार, आफन्त, साथीभाइहरुले समेत बैंकको जागिर छोड्न सल्लाह, सुझाव दिइरहेका छन् । सहकारी डुब्दा, भाग्दा सञ्चालक, अध्यक्ष मात्र फसेनन्, कर्मचारीहरु पनि जेलमा जानुपरेको छ ।

हे, यसैबाट पाठ सिकेर अहिले बैंकमा खाइरहेको जागिर पनि छोडिरहेको छ । बैंकको आम्दानी दिनप्रति दिन खस्किँदै गएको छ । एकातिर कर्जा प्रवाह शून्य भएको छ, अर्कोतिर ऋण उठाउन सकिरहेको छैन । त्यसमाथि अहिले बचतकर्ताहरुले पनि आफ्नो निक्षेप भटाभट निकाल्न थालेका छन् । सहकारी होस् या बैंक, वित्तिय संस्था सबैको कर्जा लगानी तीन क्षेत्रमा छ भनेर थाहा भइसक्यो ।

त्यो हो, घरजग्गा, गाडी र सेयर । पाँच वर्षअघि करोडौं भनिने घरजग्गा अहिले लाखमा बिक्री नहुने अवस्था आएको छ । ३२ सयको सेयर एक सय रुपैयाँ र ३० लाखदेखि करोडौं हालेर किनेको सवारीसाधन अहिले त्यसको आधा मूल्यमा बिक्री नहुने भएको छ । घरजग्गा, गाडी र सेयरको मूल्य दिनानु दिन घट्दै गएको छ ।

यीनीहरुको मूल्य कबाडीको भाउमा झरेको छ । बैंकबाट एउटै व्यक्ति तथा व्यापारीले लाखदेखि अर्बौसम्म कर्जा लिएका छन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईले दश अर्ब र भाटभटेनी साहु मीनबहादुर गुरुङले बैंकबाट ५१ अर्ब ऋण लिएको बताइन्छ । यी त उदाहरण मात्रै हुन् । यस्ता सयौं व्यापारी, व्यवसायी छन्, जसले बैंकबाट अर्बौ ऋण लिएका छन् तर साँवाब्याज तिरेका छैनन् ।

बजारमा जो कोही घरजग्गा, गाडी र सेयर बेच्न चाहन्छन् । सार्वजनिक स्थलदेखि चिया पसल, भट्टी पसलसम्म यो किन्ने मान्छे खोजिरहेको भेटिन्छन् । तर, किन्ने कोही छैन । ऋणीहरुले हात उठाइसकेका छन् । उनीहरुले बैंकलाई नै धितो छोडिसकेका छन् । कर्जा तिर्न नसकेपछि झण्ड डेढ लाख सर्वसाधारण कालोसूचीमा परिसकेका छन् । अरु पनि पर्ने क्रम जारी छ ।

सहकारी डुब्ने हल्ला चल्नासाथ आफ्नो बचत निकाल्नेहरु जोगाए । अनि जसले सरकार र सहकारी सञ्चालक, अध्यक्ष र कर्मचारीको विश्वासमा परेर आफ्नो निक्षेप निकालेनन्, उनीहरु डुबे । अब बैंकमा पनि यस्तै हुने देखिन्छ । बजारमा बैंक डुब्ने चर्चा आगोझैं फैलिएको छ । कतिपयले यसमा विश्वास गरेका छन् भने कतिपय अन्यौलमा देखिन्छन् ।

त्यसैले, अब बचतकर्ताहरुले बेलैमा दिमाग नपुर्याए सहकारीका निक्षेपकर्ताजस्तै अवस्था हुन बेर छैन । राष्ट्र बैंक र अर्थ मन्त्रालय बैंक, वित्तिय संस्था ठिकठाक रहेको दाबी गर्छ । यद्यपि, यी संस्थाको लगानी कहाँ छ ? भन्दैन । बैंक, वित्तिय संस्थामा समस्या आइसकेको छ । सरकार अझै पनि सर्वसाधारणलाई भ्रममा राखिरहेको छ। हिजो सहकारीमा संकट आउँदा पनि सरकारले यस्तै गर्यो ।

सहकारीमा केही पनि समस्या छैन भनेर ढाँट्यो । पछि सहकारी सञ्चालक, अध्यक्षहरु बचतकर्ताको करोडौं रकम लिएर भागे । अहिले बचतकर्ताहरुको रुवाबासी चलेको छ । पैसा डुबेकै कारण कतिपय बचतकर्ताले सहन नसकेर आत्महत्या गरेका छन् भने कतिपय अस्पतालको बेडमा छन् । उनीहरुसँग उपचार गर्न समेत पैसा छैन । अनि हिजो सहकारी ठिकठाक छ भन्ने सरकार अहिले चाँहि कहाँ छ ?

यसपटक भने जनता भ्रममा पर्नुहुन्न । न सरकारको न बैंक, वित्तिय संस्थाको । आफ्नो रकम भएको बैंक, वित्तिय संस्थाको अवस्थाबारे बुझौं । कहाँ लगानी गरिएको छ ? भनी खोजतलास गरौं । आफुसँगै अरुलाई पनि डुब्नबाट जोगौं । किनकि डुबेपछि सरकारले केही पनि गर्दैन भन्ने थाहा भइसक्यो । त्यसकारण अब जनता आफैं सचेत हुनुपर्छ । अहिले बैंकका कर्मचारीहरु धितो किन्ने ग्राहक खोज्दै हिँडिरहेको भेटिन्छन् ।

सस्तोमा धितो बेच्न खोज्दा समेत बैंकले ग्राहक पाइरहेको छैन । धितोको मूल्य दिनानु दिन घट्दै गएको छ भने बैंकको आम्दानी खस्किएको छ । कर्मचारीलाई तलब दिनदेखि निक्षेपको ब्याज अनि घरभाडा, दैनिक खर्च धान्न बैंकलाई धौधौं पर्न थालिसकेको छ । यस्तै अवस्था रहिरहे बैंक सहकारीको अवस्थामा पुग्न धेरै समय लाग्ने छैन । अब सञ्चारमाध्यमहरुले पनि जनतालाई सतर्क गराउनुपर्छ ।

बैंक, वित्तिय संस्थाहरुको यथार्थ बाहिर ल्याउनुपर्छ, कुनै पनि प्रलोभन, लोभमा नपरी । किनकि जनताभन्दा अरु कोही ठूलो होइन । जनता पनि अब ब्याजको प्रलोभनमा फस्नुहुन्न । चोक्टा खान गएकी बुढी झोलमै डुबेर मरी भनेझैं ब्याजको लोभमा पस्दा साँबा नै गुम्न सक्छ । त्यसैले, होसियार हौं । साथै, बैंकमा अब रकम सुरक्षित छ भनेर ढुक्क भएर घरमा नबसौं ।

अहिले घरजग्गा, गाडी र सेयरमा मन्दी छ । यो केही दशकसम्म रहने जानकारहरु बताउँछन् । काठमाडौं उपत्यकासहित देशभर कोठा, सटर र फ्ल्याट खाली भइरहेका छन् । बसिरहेकाले पनि आधा भाडा घटाउन घरधनीहरुसँग माग गरिरहेका छन् । उनीहरु भन्छन्, ‘कि आधा भाडा घटाउनुस् । नभए हामी बस्दैनौं ।’ बजार झन झन मन्दीतर्फ मोडिएको छ ।

मुलुकमा बेरोजगारी, महँगी अनि गरिबी बढ्दै गएको छ । बिहान–बेलुकाको छाक टार्न समेत आम नागरिकलाई धौंधौं परिरहेको छ । अनि यस्तो अवस्थामा कसले घरजग्गा, गाडी र सेयर किन्छ ? सरकारले बेलैमा उचित कदम नचालेमा मुलुकमा जनआन्दोलन समेत हुन सक्नेछ । अहिले सरकारले बैंकमा जनताले जम्मा गरेको रकम ऋणस्वरुप चलाइरहेको छ।

निर्माण व्यवसायीको ४० अर्ब भुम्तानी दिन बाँकी छैन। दुग्ध कृषकको सात अर्ब र कोरोना महामारीका बेला बीमा गराएका अस्पतालको पनि ११ अर्ब भुक्तानी बाँकी नै छ। सरकारले विदेशी ऋण २७ खर्ब लिइसक्यो। महालेखा परीक्षकको कार्यालयअनुसार सरकारी खर्च दिनप्रति दिन बढ्दो छ भने आम्दानी घट्दो क्रममा छ।

सरकार बैंकको पैसाबाट खर्च धानिरहेको छ। त्यँही पैसाबाट जनप्रतिनिधि, कर्मचारीहरुलाई कामै नगरी महिनैपिच्छे खातामा खुरुखुरु तलब हालिन्छ। सरकार खर्च घटाउनेतिर छैन। उल्टै बैंकमा जनताले जम्मा गरेको रकमतिर सरकारको आँखा छ। अनि अहिले नै विदेशी ऋणको साँवाब्याज तिर्न नसकिरहेको अवस्थामा सरकारले बैंकबाट लिएको ऋण चाँहि कसरी तिर्छ ? अब सरकार आफैंले बैंक डुबाउने देखिएको छ।