सहकारी ठगी प्रकरण: जीबी र रविसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं। स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले आइतबार अदालतमा मुद्दा दर्ता गराएको हो। सहकारीको एक अर्ब १९ करोड ९५ लाख रुपैयाँ अनियमितता गरेको आरोपमा लामिछानेसहित स्वर्णलक्ष्मी सहकारीका अध्यक्ष जीबी राई, छविलाल जोशी, उपाध्यक्ष देवेन्द्रबाबु राई, कोषाध्यक्ष कुमार रम्तेल,सचिव इरान लामा, सहसचिव कविता तामाङ,सदस्य हमेन्त अधिकारी,रविना रिमाल, पूर्वअध्यक्ष दिपक लामाविरुद्ध मुद्दा दर्ता भएको छ।

त्यस्तै, सविना आले मगर,भक्तबहादुर भोलन, सविता लामा, पूर्वसचिव प्रदीप लामा, लेखा संयोजक गणेशराज श्रेष्ठ, पूर्वलेखा समिति सदस्य सुनिता नेवा, पूर्वसदस्य शान्तिकुमारी सुवेदी,कर्जा उपसमिति सदस्य रोमन काफ्ले, कमल लामा, व्यवस्थापक नविन अछामी,पूर्वअध्यक्ष कल्पना कुमारी श्रेष्ठ,पूर्वसञ्चालक समिति सदस्य राजु बरालविरुद्ध पनि मुद्दा दर्ता भएको छ।

सहकारी ठगी आरोपमा हाल जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा रहेका लामिछानेविरुद्ध पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा पनि थुनछेक बहस चलिरहेको छ।