आज हल्का वर्षासँगै उच्च पहाडी भूभागमा हिमपातको सम्भावना
काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आज र भोलि (मंगलबार) दुई दिन उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसमविदले जनाएको छ। साथै केही स्थानमा छिटपुटदेखि हल्का वर्षा हुने पूर्वानुमान समेत छ।
काठमाडौं उपत्यकामा पुस २३ गते छिटफुटदेखि हल्का वर्षाको सम्भावना समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सोमबार साँझ सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै ठाउँहरुमा हल्का हिउँ पर्ने सम्भावना छ ।
यसैगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै ठाउँहरुमा छिटपुटदेखि हल्का पानी पर्ने सम्भावना पनि छ ।
महाशाखाका मौसमविद सरोज पुडासैनीका अनुसार पुस २३ गते मंगलबारको दिन कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही ठाउँहरुमा हल्का हिउँ पर्ने सम्भावना छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका हकमा भने थोरै ठाउँहरुमा हल्का हिउँ पर्ने सम्भावना रहेको छ ।
यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडि भूभागका थोरै ठाउँहरुमा छिटफुटदेखि हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद पुडासैनीले बताए । उनका अनुसार बाँकी भूभागमा पनि एक–दुई ठाउँमा छिटफुटदेखि हल्का पानी पर्ने स्म्भावना छ।
पश्चिमी न्यूनचापीय प्रणालीको कारण यस्तो भएको बताउँदै उनले अघिल्ला पश्चिमी न्यूनचापीय प्रणालीभन्दा यो केही कमजोर देखिएको बताए। तर देशभर नै तापक्रम केही घटेर चिसो बढ्नेछ।