पत्रकार चन्द्रकार हत्या प्रकरणका मुख्य आरोपित पक्राउ

काठमाडौं । भारतमा पत्रकार मुकेश चन्द्रकारको हत्याका मुख्य आरोपित पक्राउ परेका छन्। छत्तीसगढ प्रहरीको एसआईटीले आइतबार हैदराबादबाट ठेकेदार सुरेश चन्द्रकारलाई पक्राउ गरेको हो। ३३ वर्षीय मुकेश चन्द्राकार यही जनवरी १ गते रातिदेखि घरबाट बेपत्ता भएका थिए । पछि उनको शव सेप्टिक ट्यांकीमा भेटिएको थियो।

यस घटनामा जनवरी ३ का दिन प्रहरीले सुरेश चन्द्रकारका दुई दाजु रितेश र दिनेश चन्द्राकारसहित महेन्द्र रामटेकेलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। डिसेम्बरमा पत्रकार मुकेशले माओवादी प्रभावित क्षेत्रमा सडक निर्माणमा भ्रष्टाचार भएको समाचार छापेका थिए । यो खबरपछि प्रदेश सरकारले उक्त सडक निर्माण ठेक्कामा छानबिन थालेको थियो।

प्रहरीका अनुसार जनवरी १ गते साँझ पत्रकार मुकेशलाई रितेशले घरमा खाना खान बोलाएका थिए । उक्त साँझ खाना खाने क्रममा रितेश र मुकेशबीच विवाद हुँदा मुकेशको हत्या भएको अुनसन्धानमा खुलेको प्रहरीले जनाएको छ। छत्तीसगढको बस्तरमा भएको यो हत्या घटना भारतभर चर्चाको विषय बनेको छ।