माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दै
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । आइतबारदेखि काठमाडौंमा सुरु भएको बैठक आज तेस्रो दिन पनि बस्ने भएको हो । बैठकमा नेताहरूले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि आ–आफ्नो धारणा राख्नेक्रम जारी छ ।
दोस्रो दिन सोमबार ८० जनाले आ–आफ्नो धारणा राखेका थिए। त्यस दिन अधिकांशले पार्टी सच्चिनुपर्ने, पार्टीमा युवाको सहभागिता बढाउनुपर्ने, पार्टीको सङ्गठन निर्माणमा ध्यान दिनुपर्ने लगायतका धारणा राखेका थिए । केही सदस्यले धारणा राख्न बाँकी भएकोले आज पनि बैठक बस्न लागेको हो।
बोल्नका लागि कुल १८० जनाले नाम टिपाएको माओवादीले जनाएको छ । आइतबारको बैठकमा प्रचण्डले आफ्नो राजनीतिक प्रस्ताव पेस गरेका थिए ।